काठमाडौं । चीनले नेपालमा हालै आएको प्राकृतिक विपद्पछि उपलब्ध गराउँदै आएको आपतकालीन मानवीय सहयोगअन्तर्गत तेस्रो चरणको राहत सामग्री बिहीबार काठमाडौं आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेना को वायुसेनाको वाइ २० ए विशाल ढुवानी विमानमार्फत बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तेस्रो चरणको चीन–सहायता आपतकालीन राहत सामग्री ल्याइएको हो ।
नेपालमा खटिने १० जना चिनियाँ फरेन्सिक विज्ञ पनि साेही विमानमा काठमाडौं आइपुगेका छन् । उनीहरू नेपालमा सहयोग गर्न आउने चिनियाँ विज्ञहरूको चौथो टोली हुन् ।
राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सहभागी भएका थिए । उनीहरूले राहत सामग्री ग्रहण गर्नुका साथै चिनियाँ विशेषज्ञ टोलीलाई स्वागत गरेका थिए ।
यस चरणमा नेपालका लागि तत्काल आवश्यक रहेका शव संरक्षणका लागि प्रयोग हुने मोर्चुरी फ्रिजर, महामारी तथा संक्रमण रोकथामसम्बन्धी सामग्री र दैनिक उपभोग्य वस्तुहरूलगायतका सामग्री ल्याइएको छ ।
नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा धेरै मानिसको पहिचान गर्नुपर्ने अवस्था रहेकाले चिनियाँ फरेन्सिक विज्ञहरूले नेपालका सम्बन्धित निकायसँग समन्वय गरी पीडित तथा मृतकहरूको पहिचान प्रक्रियामा सहयोग गर्नेछन्। उनीहरूले नेपालमा पुगेपछि आफ्नो काम तत्काल सुरु गर्ने तयारी गरिएको छ ।
तेस्रो चरणको राहत सामग्रीमा विपद् प्रभावित क्षेत्रमा अत्यन्त आवश्यक मानिएका बेली ब्रिज पनि समावेश छन् । विपद्का कारण सडक तथा पुलहरू क्षतिग्रस्त भएका स्थानमा आवतजावत र राहत तथा उद्धार कार्य सहज बनाउन बेली ब्रिज महत्वपूर्ण हुने बताइएको छ ।
यसैबीच, पहिलो चरणमा पठाइएका बेली ब्रिज निर्माण तथा जडानका लागि आवश्यक विशेष उपकरणहरू स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाकासम्म आइपुगेका छन् । ती उपकरणहरू हस्तान्तरणका लागि सीमा क्षेत्रमा तयारी भएकाे छ ।
यसअघि चीनले अगस्ट ३० मा पहिलो चरणअन्तर्गत ठूलो परिमाणमा आपतकालीन राहत सामग्री तथा सुरुङ उद्धार विज्ञ टोली नेपाल पठाएको थियो । त्यसपछि सेप्टेम्बर १ मा दोस्रो चरणको राहत सामग्रीसँगै पाँच जना डिएनए पहिचान विज्ञ नेपाल आएका थिए ।
दोस्रो चरणमा ड्रोन, डिएनए परीक्षण उपकरण तथा रसायन, पानी शुद्धीकरण उपकरण र प्रकाश व्यवस्थाका सामग्रीलगायत नेपाललाई तत्काल आवश्यक सामग्री पठाइएको चिनियाँ दूतावासले जनाएको थियो।
चीनले नेपाल सरकारको आवश्यकता र अनुरोधका आधारमा विपद् राहत तथा उद्धारमा आवश्यक सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।





