काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको छ । निधन भएका १४ जना पूर्वसांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने स्थगित भएको छ ।
बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
त्यस्तै पूर्व सदस्यहरु वीरबहादुर लामा, ओमकार प्रसाद गौचन, इन्द्रहाङ लिम्बु, संविधानसभा सदस्य भीमप्रसाद गौतम, पूर्वसदस्य कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, डा. शंकरप्रसाद उप्रेतीको निधनमा पनि संसद बैठकले शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सहभागी हुन संसद भवन पुगेका प्रधामन्त्री केपी शर्मा ओली भने बैठक सुरु नहुँदै बाहिरिएका थिए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि पहिलो बैठक यही फागुन २३ गते बसेको थियो । पहिलो बैठक अवरुद्ध भएपछि सूचना टाँस गरी आजका लागि बोलाइएको थियो ।
