काठमाडौँ । सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराजसिंह थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन साहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन् ।
नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् । थापा काठमाडौँ विश्वविद्यालयमा विगत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत छन् । उनले नर्वेबाट ‘हाइड्रोपावर’ विषयमा विद्यावारिधि गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिए । उनले काठमाडौँ विश्वविद्यालयलाई विशिष्टीकृत ढङ्गको ट्रस्टी मोडलमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए ।
