काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप लगाएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा पनि सामाजिक संजालमा प्रचारमा लागेको आरोप लगाएका हुन् ।
उनले सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्नु दुःखद भएको बताए । उनले भने, ‘उद्धारको पर्खाइमा पीडित परिवारका गन्थन सुनेपछि आज यो संसदमा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो । सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो । फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो ।’
उनले सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारमा सरकारको ढिलाइप्रति आपत्ति जनाए । उनले भने, ‘मन्त्रीका आफन्त त्यहाँ फसेको भए पनि सरकारको व्यवहार यस्तै हुन्थ्यो कि प्राविधिकहरूलाई तत्काल परिचालन गरिन्थ्यो ?’
नेता आङ्देम्बेले २०७२ सालको भूकम्पमा तत्काल उद्धार सुरु गरिएको स्मरण गराउँदै अहिले सात दिन बितिसक्दा पनि सुरुङमा फसेकाको खोजी प्रभावकारी रूपमा हुन नसकेको बताए । उनले विपद्को क्षणमा उद्धार, राहत र पुनःस्थापनामा जुट्नु सबैको साझा कर्तव्य भएको बताए ।
नेता आङदेम्बेले सरकारको साथमा सँगै छौँ भन्नुको अर्थ सरकारले गरेका सबै कुरा माफ भन्ने नभएको बताए । उनले भने,‘राम्रो काम गर्छ साथ समर्थन छ, बाटो बिराउँछ प्रश्न र खबरदारी पनि छ ।’ उनले बाढी गएको एक साता बित्दा सबै ठिकठाक भन्न नमिल्ने बताए ।
