सुरुङ पूर्णरूपमा थुनिएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बन्योः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन साहले जलविद्युत आयोजनाका सुरुङ पूर्ण रूपमा थुनिएकाले त्यहाँ फसेकाहरूको उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्वका विभिन्न देशमा टनेलमा विपत्ति आउँदा पहिरो पन्छाएर उद्धार गर्ने विशेषज्ञ र प्रविधि उपलब्ध भएपनि अहिलेको अवस्था त्यसभन्दा फरक रहेको बताए।

उनले भने, ‘टनेलमा फस्नुभएकाहरूको अहिले धेरै चर्चा भइरहेको छ । यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ । विश्वभरको कुनै टनेलमा विपत्ति आउँदाखेरी विश्वभरिका टनेल एक्सपर्टहरू टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने एक्सपर्टिजहरू विश्वभर नै रहेको छ । तर यो चाहिँ किन फरक किसिमको हो ।हामीसँग पनि तत्कालै गर्ने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन । विभिन्न राष्ट्रमा जति उद्धार भएको थियो, त्योभन्दा यो एकदमै विल्कुलै फरक अवस्था हो ।’

उनले अहिले सुरुङमा बेपत्ताहरुको खोजीका लागि तीन देशको विशेषज्ञ टोली परिचालन भइरहेको जानकारी दिए । उनले सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका लागि भारतीय, चिनियाँ र कोरियन टोली परिचालन भइरहेको बताए ।

उनले भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिपछि उद्धार र राहतका विषयमा आएको गुनासोबारे आफू जानकार रहेको बताए । उनले भने, ‘टनेलमा आएको विपत्ति विशेष किसिमको छ । ढिलाइबारे जुन गुनासो आएको छ, त्यो पूर्ण रुपमा बुझ्छौं। हामी गुनासोबाट विचलित भएका छैनौं।’

त्यस्तै, उनले प्रदेश र स्थानीय सरकारसँगको समन्वयका विषयमा पनि प्रस्टीकरण दिए । उनले प्रदेश र स्थानीय सरकारसँग समन्वय भइरहेको र अबका दिनमा पनि गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *