काठमाडौं । प्रधानमन्त्री बालेन साहले भोटेकोसीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री साहले भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीले क्षणभरमै ठूलो मानवीय क्षति पुर्याएको बताए । उनले बाढीमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।
प्रधानमन्त्रीले भने, ‘भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले क्षणभरमै हाम्रा आमाबुवा, दिदीबहिनी तथा दाजुभाइलाई हामीबाट खोसेर लग्यो । यो अकल्पनीय विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’
उनले विपद्बाट रसुवा, नुवाकोट र धादिङमा भएको क्षति ती जिल्लाको मात्र नभई सिंगो देशको साझा पीडा भएको बताए ।
‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो,’ उनले भने ।
प्रधानमन्त्री साहले संकटका बेला नेतृत्वले निराशा होइन, जनतालाई हिम्मत र भरोसा दिनुपर्ने बताए । विपद्को समयमा थकान र पीडाका कारण विश्राम लिने अवस्था नरहेको उल्लेख गर्दै उनले उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए ।
‘शरीर थाकेको भन्दै विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा विलाप गर्ने समय छैन । संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत र आड–भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकार गरेका छौँ, त्यसैले दृढ संकल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन । हामी लडिरहेका छौं,’ प्रधानमन्त्रीले भने ।
उनले विपत्तिको सामना गर्न दृढ संकल्प र साहसका साथ अघि बढ्नुको विकल्प नरहेको बताए ।
