बीबीसी । अमेरिकी कन्जरभेटिभ अभियन्ता चार्ली किर्कको हत्या आरोपमा पक्राउ परेका २३ वर्षीय टायलर रोबिन्सनले अदालतमा आफू दोषी नभएको जिकिर गरेका छन् । अदालतले अभियोजन पक्षलाई मुद्दाको सुनुवाइका क्रममा मृत्युदण्ड माग्न सक्ने बाटोसमेत खुला गरिदिएको छ ।
युटाह राज्यमा मृत्युदण्डयोग्य अपराध मानिने ‘एग्राभेटेड मर्डर’सहित थप ६ वटा अभियोगमा रोबिन्सनले दोष स्वीकार नगरेका हुन् । उनीमाथि १० सेप्टेम्बर २०२५ मा युटाह भ्याली विश्वविद्यालयको क्याम्पसमा आयोजित कार्यक्रममा किर्कमाथि गोली चलाएको आरोप छ ।
रोबिन्सनका कानुनी प्रतिनिधिले मृत्युदण्डको सम्भावना हटाउन माग गरेका थिए । तर अभियोजन पक्षले बालबालिकाको उपस्थितिमा भीडतर्फ गोली चलाइएको जस्ता गम्भीर परिस्थितिलाई आधार बनाउँदै मृत्युदण्डको मुद्दा चलाउनुपर्ने तर्क गरेको थियो ।
टर्निङ प्वाइन्ट यूएसएका सहसंस्थापक ३१ वर्षीय किर्क ओरेमस्थित युटाह भ्याली विश्वविद्यालयमा सम्बोधन गरिरहेका बेला घाँटीमा गोली लागेर मारिएका थिए।
प्रोभोस्थित अदालतमा रोबिन्सन खैरो रंगको सूट लगाएर उपस्थित भएका थिए। सुनुवाइका क्रममा उनी बेलाबेलामा आफ्ना वकिलसँग परामर्श गरिरहेका देखिन्थे। किर्ककी पत्नी एरिका तथा उनका दुई सन्तान र किर्कका आमाबुबा रोबर्ट र क्याथरिन पनि अदालतमा उपस्थित थिए।
सुनुवाइपछि किर्क परिवारले जारी गरेको विज्ञप्तिमा अदालतको निर्णयलाई ‘न्यायको खोजीमा महत्वपूर्ण कदम’ भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रक्रियाको हरेक चरणले चार्लीको हत्याले उनको परिवारबाट खोसेको सबै कुराको पीडा बोकेको छ, विशेषगरी आफ्ना बाबुबिनै हुर्किनुपर्ने उनका सन्तानको।’
जुलाईमा पाँच दिनसम्म चलेको प्रारम्भिक सुनुवाइपछि मंगलबार अन्तिम बहस भएको हो। प्रारम्भिक सुनुवाइका क्रममा अभियोजन पक्षले रोबिन्सनविरुद्ध मुद्दा अघि बढाउन पर्याप्त आधार रहेको देखाउने प्रमाण प्रस्तुत गरेको थियो।
अभियोजन पक्षले घटनास्थलबाट बरामद भएका हतियार तथा अन्य सामग्रीमा भेटिएको डीएनएले रोबिन्सनलाई हत्याको हतियारसँग जोडेको दाबी गरेको छ। साथै, उनले आफन्त तथा नजिकका व्यक्तिसँग गरेको भनिएको स्वीकारोक्ति र उनका रुममेट तथा प्रेम सम्बन्धमा रहेका व्यक्ति लान्स ट्विग्सको भिडियो बयानलाई पनि प्रमाणका रूपमा प्रस्तुत गरिएको छ।
