के ती टनेलमा प्रधानमन्त्री या गृहमन्त्री फसेको भए त्यसको ढोका खुल्न ६ दिन लाग्ने थियो ?

-नारायण गाउँले ।

भीषण बाढी आएको ७ दिनसम्म पनि कति टनेलसम्म अझै पुग्न सकिएको छैन भन्ने यथार्थले धेरै नै पोल्दो रहेछ । टनेलभित्र आफ्ना आमाबुबा या सन्तान पुरिएको आशङ्कामा विक्षिप्त भएर कुरिरहेका सयौँ आफन्तहरूको पीडा र मानसिक स्थिति कस्तो होला ? एक एक सेकेण्ड युगजस्तो हुन्छ, मार्मिक हुन्छ ।

हारगुहार पहिलो दिनदेखि नै सुरु भएको थियो । अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव पनि थियो । ’रेस्क्यु’का लागि पहिलो २४ घण्टा निकै निकै महत्त्वपूर्ण हुने रहेछ । त्यसपछि हरेक घण्टा स्थिति बिग्रँदै जान्छ भन्ने सुनियो । पर्याप्त अक्सिजन र पिउने पानीसम्म नरहेको ठाउँमा हिलोमा गाडिएकाहरूको ५–६ दिनपछि जीवितै उद्धार हुन सक्ने सम्भावना कति होला भन्ने सोच्दा कसको मन छिया नहोला ? आशा र प्रार्थना छ, ती टनेलमा कोही पनि पुरिएका नहोऊन् । यदि पुरिएर केही जीवित नै छन् भने तिनको स्थिति कस्तो होला ?

हाम्रा औसत सरकार यस्तै हुन् । हामीसँग ठूला विपत्तिको पूर्वानुमान, तयारी, तालिम, सूचनाप्रणाली र उद्धारको संरचना छैन, स्रोत पनि छैन । के गर्ने, कसले गर्ने र कसरी गर्ने भन्ने अभ्यास हामीसँग छैन । एकाएक आउने विपत्तिमा हामी आत्तिन्छौँ । गर्न त राम्रै खोजेका हुन्छौँ, हामी आफै उद्धारक भएर होमिन्छौँ पनि । तर संस्थागत अनुभव, समन्वय र स्पष्ट रणनीतिको अभावले गर्दा उद्धार, राहत र पुनः स्थापनाको काम लथालिङ्ग हुन पुग्छ । पाठ सिक्ने बानी पनि हाम्रो छैन । गर्न खोज्ने तर सही समयमा सही निर्णय गर्न नसक्ने हाम्रो विशेषता जस्तै छ । फेरि गर्दै गर्दा क्यामेराको फ्रेमभित्र आफू देखिनै पर्ने या न्यारेटिभको केन्द्रमा आफू हुनै पर्ने लोभ हामी सबैसँग छ ।

हामीले कोसिस गर्दागर्दै ६ दिनसम्म नदी किनारका शव उठाउन भ्याएनौँ । विपत्ति आएका सबै गाउँ र ठाउँसम्म पुग्न भ्याएनौँ । हामीसँग केही सय शव व्यवस्थापनको क्षमता पनि रहेनछ । जताततै हाइड्रो पावरको टनेल भएको देशमा आपत् पर्दा मान्छे उद्धार गर्ने उपकरण पनि रहेनछन् । दूरसञ्चारका वैकल्पिक सेट पनि नहुँदा जीवित रहेकाहरूसँग पनि सम्पर्क स्थापित नभएर अर्को समस्या भोग्नुपर्यो ! यो सबै भोग्ने र पर्नेलाई मात्रै थाहा हुने पीडा रहेछ !

हामीले नगरेको पनि होइन । यो विपत्ति सानोतिनो थिएन । प्रलयकै स्तरको थियो । सेना र प्रहरीदेखि कर्मचारीसम्म दिनरात खटिएकै छन् । ती आफ्नै जीवनको बाजी राखेर उद्धारमा संलग्न देखिन्छन् । सयौंको मृत्युको मुखबाट उद्धार भएको छ । देशविदेशका प्रायः सबै जसो नेपालीले सकेजति रकम सहयोग गरेका छन् । मोटर पुग्ने ठाउँसम्म राहत पनि पुग्यो । पुगेको राहतको प्रसंशा पनि भयो । तर आहत भएका कति धेरै पीडित अझै पर्खाइमै छन् । आफ्ना प्रियजनको सास र लाशको खबर नभेटेर हजारौँ परिवार शोकाकुल छन् । सानो आशाको त्यान्द्रोले पनि कति फरक पार्छ । एउटा सानो टिप्पणीले पनि कति दुख्छ । ‘हरेक नेपालीको घरमा एक एक वटा लास राख्न पठाई दिम्’ जस्तो अत्यन्त असंवेदनशील र अमानवीय अभिव्यक्ति सुनेर छोराको खबर कुरिरहेकी वृद्ध आमालाई कस्तो लाग्दो हो !

सबै टिप्पणीहरू विरोधकै लागि विरोध मात्रै हुँदैनन् । केही पीडा नै हुन्छन्, पीडितकै आर्तनाद हुन्छन् । केही राम्रो होस् भन्ने उद्देश्यले हुन्छन् । यत्रो दिन एउटा तस्बिरया भिडियो समेत शेयर नगरी राज्यमाथि विश्वास गर्नेहरू पनि छन् । सत्तामा बस्नेहरू प्रतिक्रियात्मक बन्ने होइन, रचनात्मक बन्ने हो ! मन्त्रालयमैं पुगेर KMAG का एडमिनले गर्नुभएको एउटै प्रश्नले धेरै कुरा एकैपटक बोल्छः के ती टनेलमा प्रधानमन्त्री या गृहमन्त्री फसेको भए त्यसको ढोका खुल्न ६ दिन लाग्ने थियो ? बचाउन सकिने नसकिने हाम्रो हातमा नहोला, तर के राज्यको साधनस्रोत त्यत्रो दिन त्यहाँ नपुगी अन्यत्र केन्द्रित हुने थियो ? के वैदेशिक सहयोग प्रस्ताव अस्वीकृत हुने थियो ?

हामीले जति सक्यो त्यति गर्यौँ । तर गरेको कुराले गर्न नसकेको कुरालाई भरपाइ गर्दैन । बचाउन सकिएको एउटा प्राणले बचाउन नसकिएको अर्को प्राणलाई क्षतिपूर्ति गर्दैन । गरेकोमा ताली आउँछ, आशीर्वाद आउँछ । तर गर्न नसकेकोमा गाली पनि आउँछ । हामीले गर्न सके जतिमा आत्मसन्तुष्टि लिँदै गर्दा यो कमजोरीको आत्मसमीक्षा र पश्चात्ताप पनि सँगै गर्नपर्छ ।

हामीसँग उद्धारको अन्तिम चरण बाँकी छ । यद्यपि हामीले जिउँदै उद्धार हुन सक्ने महत्त्वपूर्ण टाइमलाइन गुमाइसक्यौँ । त्यसपछिका चुनौती पनि कम छैनन् । अहिले विश्वभरका मिडियामा नेपाल छ, देशदेखि विदेशसम्मबाट सहयोग जुटेको छ । आज हरेक नेपालीलाई आफ्नै मुटुमा चोट परेजस्तो दुःखेको छ । तर भोलि कोही नहुँदा पनि सर्वस्व गुमाएका पीडितहरू सँग सरकार छ भन्ने अनुभूति हुने गरी काम गर्नुपर्नेछ । यो अकल्पनीय र अवर्णनीय पीडाका भोक्ता र साक्षी सबैप्रति हार्दिक सहानुभूति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *