काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले एक महिनाको र कांग्रेसका संघीय सांसदहरूले १५ दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेता आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेको हो ।
बैठकले बाढीका कारण ठूलो संख्यामा नागरिकको मृत्यु भएको, सयौँ घाइते तथा हजारौँ बेपत्ता भएको र नदी तटीय क्षेत्रका बस्ती, बजार, सडक, पुल, जलविद्युत् आयोजना तथा सार्वजनिक एवं निजी सम्पत्तिमा ठूलो क्षति पुगेको जनाएको छ । भौगोलिक अवस्था र सञ्चार सम्पर्क विच्छेदका कारण क्षतिको वास्तविक विवरण अझै यकिन हुन नसकेको कांग्रेसले जनाएको छ ।
बेपत्ता नागरिकको खोजी तथा उद्धार, घाइतेको उपचार, विस्थापित परिवारको पुनःस्थापना र पीडितलाई मनोपरामर्शको व्यवस्था गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । साथै क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चारलगायत अत्यावश्यक पूर्वाधार तत्काल पुनःस्थापना गर्न आग्रह गरेको छ ।
कांग्रेस संसदीय दलका नेता आङदेम्बेले बाढी प्रभावित क्षेत्रको स्थलगत जानकारी लिँदा संघ, प्रदेश र स्थानीय तहबीच तहगत समन्वयको अभाव देखिएको तथा उद्धार, राहत र पुनःस्थापनाको काम व्यवस्थित र प्रभावकारी नभएको स्थानीयको गुनासो आएको बैठकले जनाएको छ । तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी काम अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।
त्यस्तै, देश विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै प्रभावित जिल्लाका समस्या तथा उद्धार, राहत र पुनःस्थापनाबारे सदनमा गहन छलफल गर्न संसद् सुचारु गर्न कांग्रेस संसदीय दलले आग्रह गरेको छ ।
बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भई यातायात तथा आपूर्ति व्यवस्था प्रभावित भएको भन्दै कांग्रेसले सुरक्षित वैकल्पिक सडकको व्यवस्था गर्न पनि माग गरेको छ । दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि तथा कालोबजारी हुन सक्ने सम्भावनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै नियमित आपूर्ति सुनिश्चित गर्न र बजार अनुगमन कडाइ गर्न आग्रह गरिएको छ ।
बैठकले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, राष्ट्रसेवक कर्मचारी, संघसंस्था, सञ्चारमाध्यम तथा स्वयंसेवकहरूलाई धन्यवाद दिएको छ । साथै उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, संघसंस्था र सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ ।
