काठमाडौँ । नेपाली सेनाले रसुवामा आएको बाढीबाट प्रभावित ३३० जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ ।
नेपाली सेनाका अनुसार मंगलबार दिउँसोसम्म ३३० जनाको हेलिकप्टरबाट प्रभावितहरूको उद्धार गरिएको हो।
बाढीबाट प्रभावित त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा करिब १५ मिटर तलसम्म पुगेर खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ। त्यस्तै, त्रिशूली हाइड्रोको ३ बी सुरुङमा विज्ञ फौजसहितको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा भने संयुक्त उद्धार टोली करिब २५० मिटरसम्म पुगेको थियो। त्यहाँ खोजी गर्दा मानिस फेला नपरेपछि टोली फर्किएको सेनाले जनाएको छ।
बाढी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। सेनाले खोला, डाँडा तथा स्थानीयका घरघरमा पुगेर खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ
