त्रिशूली थ्री–‘ए’मा फसेका कर्मचारीको उद्धारका लागि सुरुङ भेटियो

काठमाडौँ । त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले सुरुङ फेला पारेको छ । आइतबार अपरान्ह उद्धार टोलीले सुरुङ फेला पारेको रास्वपा सासंद श्रीराम न्यौपानेले जानकारी दिएका छन् ।

यो सुरुङबाट अब उद्धार विज्ञलाई भित्र पठाएर अवस्थाबारे जानकारी लिने तयारी भएको उनले बताए । यसअघि उद्धार टोलीले भित्र हावा पठाउन पाँचवटा प्वाल बनाएको थियो । हालसम्म ड्रिल गर्ने र भित्रको अवस्था बुझ्ने प्रयास गरिरहेको न्यौपानेले बताए ।

उद्धार टोलीले शनिबारदेखि त्यहाँ काम थालेको थियो । आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर हेलिकप्टरबाट लगेको थियो । गएराति भीषण बाढी आएको भए पनि उद्धार प्रयास निरन्तर जारी छ । अब फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु हुनेछ।

उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ ।

यसअघि टोलीले आइतबार दिउँसो २ बजे सुरुङको मुख्य भाग (’क्राउन हेड’) मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले (र्यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *