भोटेकोशी बाढीः ५७९ जनाको मृत्यु, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५७९ जनाको शव फेला परेको छ भने १ हजार ९२४ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मृत्यु हुनेमा रसुवाका १२, नुवाकोटका ३७, धादिङका ४०, गोरखाका ४६, नवलपरासी पूर्वका १५४, नवलपरासी पश्चिमका २७, तनहुँका ३० र चितवनका २३३ जना छन् ।

सम्पर्कविहीनमध्ये ५१७ जना विदेशी नागरिक रहेका छन् । जलविद्युत् आयोजनासँग सम्बन्धित १३३ जना, मकवानपुरका ६६ जना तथा विदेशमा रहेका नेपाली १२७ जना पनि सम्पर्कविहीनको सूचीमा छन् ।

बाढी तथा पहिरोमा १०१ जना घाइते अस्पतालमा उपचाररत छन् । उद्धार कार्यका क्रममा हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ, जसमा १२९ जना विदेशी नागरिक छन्।

उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टरले ९९ हवाई उडान गरिसकेका छन्। सुरक्षा तथा उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहित १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

प्रभावित क्षेत्रमा हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने हेलिकप्टरमार्फत समेत राहत सामग्री पुर्‍याइएको छ। सञ्चार सेवा पुनःस्थापनाका लागि क्षतिग्रस्त १९५ टेलिफोन टावरमध्ये मर्मतपछि १४५ वटा सञ्चालनमा आएका छन्।

सरकारले रसुवा र नुवाकोटमा एक–एक करोड तथा धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। साथै १५ पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *