काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको समर्थन सँधै कायम रहन्छ भन्ने सोच गलत भएको बताएका छन् ।
नन्दप्रसाद-जानुका फाउन्डेसनद्वारा बिहीबार आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा सभापति थापाले आफूले तत्कालीन कांग्रेस नेतृत्वलाई नागरिकको असन्तुष्टिबारे पटक–पटक सचेत गराए पनि त्यसलाई गम्भीर रूपमा नलिइएको बताए ।
उनले भने,‘यतिबेला दुई तिहाइमाथि पनि प्रश्न उठिरहेको छ । पाँचपटक प्रधानमन्त्री भएको मान्छे छैटौंपटक भएन भनेर असन्तुष्ट हुन्छ । दुईपटक सभापति भएको मान्छे तेस्रोपटक हुन पाइन भनेर असन्तुष्ट हुन्छ । महत्वकाक्षा यसरी बढ्दै जान्छ ।’
उनले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त संख्या मात्रै पर्याप्त नहुने बताए । जनताको निरन्तर समर्थन, नैतिक नेतृत्व र नागरिकको विश्वास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।
थापाले आफू तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पटक–पटक आफ्ना असहमति र चिन्ता राखेको स्मरण गरे ।
थापाले त्यसबेला आफूहरूले देखेका समस्या र दिएका सुझावलाई नेतृत्वले गम्भीर रूपमा नलिएको भन्दै त्यसको राजनीतिक मूल्य आफूहरूले समेत चुकाएको बताए ।
उनले संख्या पुग्दैमा कुनै निर्णय सही नहुने भन्दै जनताले त्यसलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने प्रश्न महत्वपूर्ण रहेको बताए । उनले भने, ‘डेमोक्रेसीमा संख्या मात्रै सबै कुरा होइन । नागरिकले मान्छन् कि मान्दैनन्, समाजले पत्याउँछ कि पत्याउँदैन भन्ने पनि हेर्नुपर्छ ।’
