-शारदा शर्मा
हामी केटाकेटी छँदैदेखि रेडियोमा मविवि शाहको एउटा गीत घन्किरहन्थ्यो– ‘देश बने हामी बनौंला…’खुब घत लाग्थ्यो मलाई यो बोल । मित्र रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ भन्ने उक्ति त प्रख्यात नै छ अहिले । प्रधानमन्त्री बालेन पनि देश बनाउंछु भनेरै सबथोक छोडेर ‘काम’ गरिरहनुभएको छ । पाँच पटक प्रधानमन्त्री भैसकेका शेरबहादुर देउवाजी देशबाहिर किन जानुभयो कुन्नि, तर उहाँ पनि देश बनाउन योगदान गर्न भनेर नै फर्किनु भएको रहेछ।
हामी बेलाबखत ‘देश किन बनेन’ भनेर बहस विमर्श पनि प्रशस्तै गरिरहेका हुन्छौं । केही दिन यताका घटनाक्रम र तिनका वहसहरु पढ्दा सुन्दा भने लागिरहेछ– देश न तत्काल बन्नेवाला छ, न निकट भविष्यमै त्यसको कुनै सम्भावना छ।
किशोर श्रेष्ठजीको पत्रिकामा श्रीषा कार्की लगायतका युवती र महिलालाई लान्छित गर्न आजसम्म प्रयोग गरिंदै आएको चरम स्त्र्रीद्वेशी भाषा र रवैया प्रत्यक्षै छ। श्रीषाको दुःखद अन्त्यको कारण पनि त्यही दुर्दान्त लान्छना नै बन्यो। केही रकमी प्राविधिक कुरा निकालेर विद्वतजन यिनै किशोर श्रेष्ठको यतिखेर भयंकर महिमामण्डन गरिरहेछन्, मानुं श्रीषाको मृत्यु केही पनि थिएन र किशोरजीले त्योभन्दा धेरै राम्रा उम्दा कामहरु गरेर धेरैलाई गुन लगाउनुभएको छ।
देशमा बस्ने कम्तीमा जान्नेसुन्ने बुद्धिजीवि ठानिएका मान्छेको मानसिकता उन्नत बनेपछि मात्रै हो देश बन्ने । हाम्रो चेतना, हाम्रा विचार उन्नत नभैकन, हाम्रो विवेक नजागिकन जतिसुकै ठूला फराकिला सडक, रेल, अग्ला घर र प्रकाशनगृह बने पनि, जति वैभव जोडे पनि त्यसको खासै अर्थ हुन्न।
हाम्रो बस्तीकै कुरा गरौं– विद्वत गल्लीको । टोलको नाम सार्थक हुनेगरी यहाँ विद्वान, बुद्धिजीवी, वकिल, डाक्टर, इन्जिनियर लेखक व्यापारी सबै बस्छौं । प्रायः धेरैका घरमा गाडी छन् । कतिपयका घरमा जातजातका कुकुर पनि छन्। झोला बोकेर जिम र जुम्मा जाने हैसियतका पनि धेरै छौं । सडक अपेक्षाकृत फराकिलै छ, सीसीटीभी क्यामरादेखि लिएर हरेक मोडमा गाडी ब्याक गर्न सजिलो होस् भनेर सिसा जडान गरिएको छ । यी सबै गर्न वडाको बजेट पनि प्रशस्तै परेको होला ।
बिडम्बना के छ भने यिनै घरहरुबाट एकाबिहानै कतिपयले गेट खोलिदिएर कुकुरलाई सडकमा निवृत्त हुन छाडिदिन्छन् । कतिपयले भने डोर्याउंदै ल्याएर मान्छेका आँखा छलेर आची गराउँछन् । रिमरिम उज्यालो नहुंदै कुकुर लिएर आउनेहरुले त कम्तीमा आफ्नो अनुहार देखिन्छ कि भनेर संकोच मान्छन्, कतिले त्यो पनि मान्दैनन्, सबैका अघि उज्यालोमै फूर्तिसाथ सम्पन्न गर्छन् यो कृत्य । त्यही आचीमाथि मान्छेले टेक्छन्, गाडी हिंड्छन्…कालो चिल्लो फराकिलो सडक कुकुरको आचीमय हुन्छ सधैं । पानी परेको बखत, बर्खायाममा त कुरै नगरौं विद्वत् गल्लीको अवस्था ! सडकमा थुक्ने, चकलेट, बिस्कुट, चाउचाउ र गुट्खाका खोल, प्लाष्टिक फाल्ने कुरा त अति सामान्य भए ।
अचेल बिहान गेट खोलेर बाहिर निस्कँदा जब गेटैमा कसैले कुकुरलाई निवृत्त गराउन भ्याइसकेको देख्छु, एउटा तत्वबोध हुने गर्छ– सडक राम्रो दामी बन्दैमा हाम्रो विचार राम्रो र दामी बन्ने चाहिं होइन रहेछ । अब देश बनेन भनेर चिन्ता गर्न छाडिदिउँ सबैले ।
