दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज

कञ्चनपुर । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तिज पर्व उल्लासहका साथ मनाएका छन् ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायको प्रमुख पर्व तिज पृथक तरिकाले मनाउने गरेका छन् । अन्य समुदायले तिज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन रहिआएको भए पनि रानाथारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने प्रचलन रहिआएको छ । राना समुदायमा तिज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने प्रचलन छ ।

पन्ध्र दिनअघि नै गाउँमा सावनकी डोला अर्थात् पिङ हाल्ने प्रचलन रहिआएको रानाथारू समुदायका जानकार भीमदत्त नगरपालिका–१४ का पर्शुराम रानाले जानकारी दिए । उनका अनुसार तिजका दिन व्रतालु महिलाहरूले रानाथारू समुदायका विभिन्न परिकार पुरी, पापड, सेमइ, पकौडा, गुलगलालगायतका विशेष परिकार पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई समेत खुवाउने गरेको बताए ।

रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व तिजमा दाजुभाइको दीर्घायु, सुख, समृद्धि र प्रगतिको कामना गर्दै व्रत बस्ने गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ बस्तीका केशमती रानाले बताइन् । “तिजमा हामीहरू पानीसमेत नखाएर निराहार व्रत बस्छौँ, साँझपख कुसको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काटेर नदीमा बगाउँछौँ”, रानाले भनिन्, “जसरी नदीको लामो भार हुन्छ त्यति नै लामो आयु हाम्रो दाइभाइको होस् भनेर कामना गर्छौँ ।” उहाँका अनुसार नदीमा कुस बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति नै लामो हुने गरेको धार्मिक विश्वास छ ।

तिजमा विवाहित महिलाहरूसमेत यतिबेला माइतमा आएर रमाइलो गर्ने गरेका छन् । रानाथारू समुदायको महिलाले आआफ्नो माइतमा बसेर व्रत बसी तिज पर्व मनाउनुका साथै दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै पिङ खेलेर रमाइलो गर्ने गरेको भीमदत्त नगरपालिका–१६ का सोमन राना बताउँछन् । “साउन महिनाको सुरुमा गाउँमा पिङ राखेर रमाइलो गर्छौँ, तिजको दिन दाजुभाइको दीर्घायुका लागि व्रत बस्ने गर्दछाँै”, उनले भने, “यस अवसरमा आफन्तलाई घरमा बोलाएर विभिन्न परिकार खुवाउने चलन छ ।”

यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा समेत मनाउने गरिएको रानाथारू समुदायका जानकारहरू बताउँछन् । साउनभर मनाउने सावनकी डोला पर्वको क्रममा तिज मनाउँछन् । सावनकी डोला (पिङ)मा काठका खम्बाबाट बनाइन्छ, तर पछिल्लो समय जङ्गलबाट काठ ल्याउन प्रतिबन्ध भएपछि पिङ अर्थात् साउनको डोला राख्न निकै सकस हुने गरेको भीमदत्त नगरपालिका–१४ का स्थानीय वसन्ती रानाले बताइन् । “अहिले दुईवटा खम्बा फलामका बनाएर पिङ (साउनको डोला) निर्माण गरेका छौँ”, रानाले भनिन्, “काठको खम्बासँगै आवश्यक रस्सी जीर्ण हुँदै गएको छ हामीले निकुञ्जसँग माग गरिराखेका छौँ ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यो समुदायमा तिज पर्व पछिल्लो समय नयाँ पुस्ताको समेत रोजाइमा पर्न थालेको उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *