ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको कैन्द्रीय कार्यसमिति बैठकले लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवाको लोकतान्त्रिक आन्दोलन र पार्टी निर्माणमा रहेको योगदानको प्रशंसा गर्दै सम्मान व्यक्त गरेको हो ।
विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै गतिशील कांग्रेस निर्माणमा देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरेको छ ।
त्यस्तै, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। श्रेष्ठलाई मध्यरातमा पक्राउ गरिएको, पत्रिकाको कार्यालयमा खानतलासी गरिएको तथा अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको घटनालाई कांग्रेसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर विषयका रूपमा लिएको जनाएको छ।
कानुनविपरीत कार्य भए अनुसन्धान र कारबाही स्वाभाविक भए पनि संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर पत्रकार पक्राउ गर्ने, सञ्चारगृहमा खानतलासी गर्ने र हत्कडी लगाउने कार्य गलत तथा अवाञ्छित भएको कांग्रेसको ठहर छ।
बैठकले सार्वजनिक लेखा समितिमा सत्तारुढ दलका सांसदबाट भएको अमर्यादित तथा असंसदीय व्यवहारप्रति पनि असहमति जनाएको छ। संसद् तथा संसदीय समितिको मर्यादा कायम राख्दै तथ्य र विधिमा आधारित भएर जिम्मेवार भूमिका निर्वाह गर्न आफ्ना सांसदहरूलाई कांग्रेसले निर्देशन दिएको छ।
कांग्रेसले राजनीतिक संरक्षणका आधारमा कसैलाई उन्मुक्ति दिने वा पूर्वाग्रहका आधारमा कसैको चरित्रहत्या गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यविपरीत रहेको जनाएको छ।
