हेटौंडा । नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
बुधबार हेटौंडास्थित संसदीय दलको कार्यालयमा १८ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित थपलियालाई हटाएर पूर्वमन्त्री किरण थापा मगरलाई दलको नेता चयन गर्न माग गर्दै अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।
केहीदिनअघि भक्तपुरको गुण्डुमा सांसदहरूको हस्ताक्षर संकलन गरिएको थियो र त्यही हस्ताक्षर प्रतिनिधिमार्फत संसदीय दलको सचिवालयमा दर्ता गरिएको हो ।
एमाले संसदीय दलको विधानअनुसार अविश्वास प्रस्ताव दर्ता भएपछि सात दिनभित्र संसदीय दलको बैठक बोलाएर त्यसबारे छलफल गर्नुपर्ने व्यवस्था छ ।
केहीदिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले थपलियााई बोलाएर संसदीय दलको नेताबाट राजीनामा दिन दवाव दिएका थिए । त्यसक्रमा गुण्डुस्थित ओली निवासमा थपलिया ढलेका थिए ।
त्यसपछि उनलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको थियो । थपलिया अस्पतालबाट आज डिस्चार्ज भएका थिए । अस्पतालबाट डिस्चार्ज भएकै दिन थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।
