काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव मंगलबार काठमाडौं ल्याइएको छ ।
गत साउन १४ गते हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव हवाईमार्गबाट काठमाडौं ल्याइएको हो ।
सोही दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने साउन २१ गते नै नेपाल ल्याइएको थियो । उनको अन्त्येष्टिसमेत भइसकेको छ ।
हिमपहिरोमा परी ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको शव भने परिवार बेलायतमा रहेकाले बेलायत लगिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव ल्याउन बाँकी छ ।
ब्रोड पिकमा गएको उक्त हिमपहिरोमा ६ नेपालीसहित १० जना आरोहीले ज्यान गुमाएका थिए।
