कोलम्बियामा शक्तिशाली भूकम्पबाट कम्तीमा १३२ जनाको मृत्यु

बीबीसी । कोलम्बियामा शक्तिशाली भूकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ । भूकम्पपछि सरकारले आपतकालीन अवस्था घोषणा गरेको छ । ७.४ म्याग्निच्युडको भूकम्प स्थानीय समयअनुसार सोबार बिहान ७ः३४ बजे चोको प्रान्तमा गएको हो ।

१०३ किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर क्षेत्रसम्म महसुस गरिएको थियो । भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पेरेइरा सहर पनि रहेको छ।

स्थानीय अधिकारीका अनुसार महानगरीय क्षेत्रमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ६५ वटा भवन भत्किएका छन्। तीमध्ये १५ वटा भवनमा मानिसहरू फसेको आशंका गरिएको छ । भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पाल्मार गाउँनजिकै रहेको थियो। गाउँका मेयर लियोन फाबियो मारिन मोनकाडाका अनुसार त्यहाँ भने मानवीय क्षति भएको छैन। तर गाउँमा जाने र बाहिरिने सडकहरू क्षतिग्रस्त भएका छन्।

पेरेइराको मुख्य चोक प्लाजा बोलिभारमा कम्तीमा एउटा भवन भत्किएको भिडियो सार्वजनिक भएको छ। घटनास्थलमा भग्नावशेष र धुलो फैलिएको देखिएको छ।

पेरेइराभन्दा करिब १६० किलोमिटर दक्षिणमा रहेको काली सहरमा पनि ३२ वटा भवन भत्किएका छन्। चोको र भाये डेल काउका क्षेत्रसहित मानिजालेस, किब्दो र मेडेलिनबाट पनि मानवीय क्षतिको विवरण आएको छ।

भूकम्पका कारण प्रभावित केही क्षेत्रमा स्थानीय समयअनुसार मंगलबार बिहान ५ बजेसम्म कफ्र्यु लगाइएको छ । भूकम्पका कारण अझै मानिसहरू भत्किएका भवनमुनि फसेको आशंका रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

भूकम्पका बेला कालीमा रहेका बेलायती नागरिक ड्यान कट्लरले आफूले जीवनमा यस्तो भूकम्प पहिलोपटक अनुभव गरेको बताए। उनका अनुसार होटलमा ठूलो संरचनात्मक क्षति नभए पनि भित्ताहरूमा चिरा परेको तथा रङ र प्लास्टर उप्किएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *