जुम्ला । यातायात व्यवस्था सेवा कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा कुल एक करोड ९४ लाख ४४ हजार राजस्व जम्मा गरेको छ ।
आव २०८१/८२ भन्दा गत आवमा करिब ५० लाख बढी राजस्व जम्मा भएको छ । चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवा प्रवाह छिटोछरितो भएकाले राजस्व बढेको यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।
पकेट तथा रुट परमिटबाट १८ लाख ८८ हजार सवारी दर्ता किताब दस्तुरबाट रु. ६४ लाख ९२ हजार, अग्रिम आयकरमार्फत ६ लाख ६८ हजार, बेरुजु असुली एक हजार ५७५ र सवारीसाधन करबाट रु. एक करोड ३९ लाख तीन हजार राजस्व जम्मा भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले बताए।
सोही अवधिमा मोटरसाइकल, स्कुटर र मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जिप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा लाइसेन्स वितरण गरिएको छ ।
