सुपुर्दगीपछि ड्यानियल किनाहान डब्लिन अदालतमा उपस्थित

बीबीसी । विश्वका सर्वाधिक खोजीमा रहेका व्यक्तिमध्ये एक मानिएका शंकास्पद अपराधका नाइके ड्यानियल किनाहानलाई दुबईबाट सुपुर्दगी गरिएपछि आयरल्याण्डको डब्लिनस्थित विशेष फौजदारी अदालतमा उपस्थित गराइएको छ ।

४९ वर्षीय किनाहानमाथि सन् २०१५ को अक्टोबर १८ देखि २०१७ को अप्रिल ६ सम्म आपराधिक संगठनका गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ । उनलाई बोकेको आयरिश सरकारी विमान स्थानीय समयअनुसार साँझ ६ बजेपछि डब्लिनमा अवतरण गरेको थियो। आयरल्याण्ड पुगेलगत्तै उनलाई पक्राउ गरी आरोप लगाइएको थियो । विशेष फौजदारी अदालतमा १३ मिनेटसम्म चलेको न्यायिक सुनुवाइपछि उनलाई आगामी ५ अक्टोबरसम्म हिरासतमा राख्ने आदेश दिइएको छ ।

किनाहानलाई यस वर्षको अप्रिलमा संयुक्त अरब इमिरेट्स (यूएई) मा पक्राउ गरिएको थियो। उनले पछिल्ला केही महिनामा आयरल्याण्ड सुपुर्दगी गर्ने आदेशविरुद्ध कानुनी अपील गरेका थिए। तर उनका सबै प्रयास असफल भएका थिए ।

बेलायतको राष्ट्रिय अपराध एजेन्सी (एनसीए) का अनुसार किनाहान कार्टेल विश्वभर ठूलो परिमाणमा लागुऔषध र हतियार ओसारपसारमा संलग्न रहेको आरोप छ। उक्त समूह एक दर्जनभन्दा बढी ग्याङसम्बन्धी हत्यासँग पनि जोडिएको छ।
किनाहान आयरल्याण्डमा मात्र खोजीमा रहेका व्यक्ति थिएनन्। अमेरिकी अर्थ मन्त्रालयले यसअघि किनाहान कार्टेललाई विश्वकै सबैभन्दा खतरनाक संगठित अपराध समूहहरूमध्ये एकका रूपमा वर्णन गरेको थियो।

अमेरिकी सरकारले सन् २०२२ को अप्रिलमा किनाहान र उनका परिवारका अन्य सदस्यलाई संगठित अपराध कार्टेलका नेता भन्दै उनीहरूमाथि प्रतिबन्ध लगाएको थियो।

किनाहानले आफूलाई आयरल्याण्ड सुपुर्दगी गर्ने प्रयासको विरोध गर्दै आएका थिए। उनको समूह आयरल्याण्डमा लामो समयदेखि चलिरहेको ग्याङ द्वन्द्वमा संलग्न रहेको र उक्त द्वन्द्वमा १८ जनाको मृत्यु भएको बताइएको छ।

आइतबारको सुनुवाइअघि डब्लिनमा ठूलो सुरक्षा व्यवस्था गरिएको थियो। उच्च जोखिमका कैदीलाई सुरक्षित रूपमा ओसारपसार गर्न आयरिश कारागार सेवाले सुपुर्दगीअघि नै गोली तथा बम प्रतिरोधी विशेष भ्यानसमेत खरिद गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *