हमास गाजा योजना अगाडि बढाउन तयार

गाजा सिटी । हमासले शनिबार अमेरिकी समर्थन प्राप्त गाजा शान्ति योजना अगाडि बढाउन तयार रहेको बताउँदै इजरायलमाथि दबाब दिन आग्रह गरेको छ । इजरायलले भने सम्झौताको पछिल्लो भागमा सहमति जनाएको छैन भन्ने अडान लिइरहेको छ ।

“हमासले योजनाको पछिल्लो चरणमा अडिग छ, जसअन्तर्गत लडाकुहरूले युद्धग्रस्त क्षेत्रमा गठन हुने नयाँ प्यालेस्टिनी शासन समितिलाई हतियार सुम्पिनेछन्,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गठित शान्ति समिति (बोर्ड अफ पिस) लाई हमासले जानकारी गराएको छ ।

हमास अधिकारीले एएफपीसँग भने, “हमास र अन्य गुटहरूले मध्यस्थकर्ताहरूलाई सम्झौता कार्यान्वयन सुरु गर्न र दोस्रो चरणमा जान तयार रहेको पुष्टि गरेका छन्, तर यसका लागि इजरायली स्वीकृति आवश्यक छ र इजरायलले पनि सम्झौता कार्यान्वयन सुरु गर्नुपर्छ।”

नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, “हमासले अमेरिकी प्रशासनलाई इजरायलमाथि दबाब दिएर सम्झौता पालना गर्न र दोस्रो चरणमा जान बाध्य पार्न आग्रह गर्दछ।”

अक्टोबरमा कठिन पुनःनिर्वाचन सामना गरिरहेका र आफ्नो दक्षिणपन्थी आधारबाट गाजा सम्झौताप्रति व्यापक विरोध भोगिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गत मङ्गलबार भनेका थिए, “इजरायलले ‘बोर्ड अफ पिस’ले प्रस्तुत गरेको ‘मस्यौदा’ मा सहमति जनाएको छैन।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्ता हमासले योजनाअन्तर्गत निःशस्त्रीकरणमा सहमति जनाएको बिषयलाई सफलताका रूपमा स्वागत गरेका थिए । बोर्ड अफ पिसले इजरायलले पनि समानान्तर रूपमा गाजाको ठूलो भागबाट चरणबद्ध रूपमा फिर्ता हुने प्रस्ताव मस्यौदामा गरेको थियो ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले सोमबार बोर्ड अफ पिसका गाजाका लागि उच्च प्रतिनिधि निकोले म्लादेनोभसँग भेट गरेका थिए । म्लादेनोभले भेटपछि भने, “इजरायल हमासको पूर्ण निःशस्त्रीकरणपछि मात्र फिर्ता हुनेछ।”

इजरायली सेनाले पनि हमासलाई निरन्तर निशाना बनाउने प्रतिज्ञा गरेको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि सबैभन्दा घातक आक्रमण गरेको थियो ।

गाजामा इजरायली अपरेशनहरू जारी रहे पनि पछिल्ला दिनहरूमा तीव्रता घटेको देखिन्छ । शनिबार खान युनिसको नासर अस्पतालले इजरायली सेनाको गोलीबाट तीन जना घाइते भएको रिपोर्ट गरेको छ ।

गाजा स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कअनुसार गत अक्टोबरमा ट्रम्पको समर्थनमा युद्धविराम सम्झौता भएयता इजरायली कारबाहीहरूबाट हमासको नियन्त्रणमा रहेको प्यालेष्टिनी क्षेत्रमा एक हजार २५७ प्यालेस्टिनी मारिएका छन् र संयुक्त राष्ट्रसङ्घले यसलाई विश्वसनीय मानेको छ । इजरायली सेनाले सोही अवधिमा आफ्ना पाँच जनाको मृत्यु भएको रिपोर्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *