काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ । बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा पार्टी सहभागी नरहेको र त्यसप्रति लालायित पनि नहुने निर्णय गरेको हो ।
बैठकले कांग्रेस, एमाले र नेकपाले नै प्रदेश सरकार गठन गर्नुपर्ने पार्टीको धारणा रहेको जनाएको छ । प्रदेश सरकारसम्बन्धी कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त समयमा उपयुक्त निर्णय लिन अध्यक्ष लिङ्देनलाई अधिकार प्रदान गरिएको पार्टीले जनाएको छ।
यस्तै, पार्टीको निर्देशनबिना सत्ता केन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन सबै प्रदेशका संसदीय दल र प्रदेशसभा सदस्यहरूलाई बैठकले निर्देशन प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकले आगामी मंसिर २६, २७ र २८ गते हुने राप्रपाको महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन विभिन्न समिति पनि गठन गरेको छ।
अध्यक्ष लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ भने सभा तथा जुलुस व्यवस्थापन, अतिथि सत्कार, भोजन व्यवस्थापन, समारोह व्यवस्थापन, जिल्ला समन्वय तथा सम्पर्क, आर्थिक, सांस्कृतिक कार्यक्रम, बौद्धिक सम्पर्क, प्रचारप्रसार, शान्ति सुरक्षा, स्वास्थ्य र स्वयंसेवक व्यवस्थापनलगायतका समितिको जिम्मेवारी पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई दिइएको छ।
त्यसैगरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई स्वागतद्वार व्यवस्थापन समितिको जिम्मेवारी प्रदान गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।
