काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिका सम्बन्धमा उजुरी पठाउन खुला आह्वान गरेको छ । नेपाल रेडक्रस सोसाइटीले आज पत्रकार सम्मलेन गरी रेडक्रसका कुनै पनि निकायमा बेथिति तथा अनियमितता भएको भएमा उजुरी गर्न सबैमा आह्वान गरेको हो ।
आगामी भदौ ३ गतेसम्म उजुरी दिन रेडक्रसले आग्रह गरेको छ । सम्मेलनमा उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डा दीपेश घिमिरेले संस्थामा अहिलेसम्म भएका अनियमितता तथा गुनासो छानबिन गरी आगामी दिनमा संस्थालाई पारदर्शी बनाउने र सुशासन सुनिश्चित गर्नका लागि उजुरी आह्वान गरिएको बताए ।
उहाँका अनुसार रेडक्रसको पुरानो साख पुनर्जीवित गर्ने उद्देश्यका साथ यो निर्णय लिइएको हो । उनले यसअघि दिएको ३५ दिनको म्याद सकिएको र पुनः २० दिन थप गरिएको जानकारी दिँदै आगामी भदौ ३ गतेसम्ममा तथ्य र प्रमाणसहित कार्यालयको आधिकारिक इमेल र अन्य ठेगानामा अनियमितता, भ्रष्टाचार तथा बेथिति सम्बन्धमा उजुरी पठाउन आह्वान गरे ।
संयोजक घिमिरेले उजुरी गर्ने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेमा संस्थाले गोपनीयताको संरक्षण गर्ने प्रस्ट पार्दै उजुरी गर्नका लागि इमेलः gunaso@nrcs.org, निःशुल्क हटलाइन नं ११३० तथा ह्वाट्सएप नं ९७४१६९५०९७ मासमेत उजुरी गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । उहाँले प्राप्त हुने सबै सूचना तथा उजुरीलाई निष्पक्ष, स्वतन्त्र तथा गोपनीय ढङ्गले व्यवस्थापन गरिने उल्लेख गरे ।
