संकटकालको तारतम्यलाई रोक्न सफल रवि

नारायण पौडेल ।

रवि लामिछानेले एक पटक भनेका थिए, म त्यस्तो अभिमन्यू होइन– जो चक्रव्यूहमा पस्न सक्छु तर निस्कन सक्दैन । म चक्रव्यूहमा पस्न पनि जान्दछु, निस्कनपनि जान्दछु । पछिल्लो घटनाक्रमपछि उनको दाबी सत्य नजिक देखिएको छ । यसपटक रविले आफ्नैहरुको चक्रब्यूह तोडेका छन् ।

प्रधानमन्त्रीका सल्लाहकार सुटुक्क भारत गएर फर्केपछि सुनसरीमा भड्किएको हिंसा डडेलो झैं फैलिसकेको थियो । सेना परिचालन भएर केहीको ज्यान गइसक्दा पनि राजनीतिक र सामाजिक प्रयास शून्य थियो । यस्तो शून्य अवस्थामा सबै दल र पक्षलाई संवादमा ल्याएर संकटकालको तारतम्यलाई कम्तिमा हालका लागि रविले रोकिदिएका छन् । प्रतिपक्षले रविको सक्रियतामा साथ दिएर संकट टार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

रास्वपा पार्टी भन्दा पनि मोर्चा हो । यसका घटकहरुका आआफ्ना दाउपेच छन् । रविको एक हस्तेमा पद जाने भएसी संसदको अर्थ के ? संकटकाल भएको भए के को दुई तिहाइ, के को सांसद ? दल र नेताका रुपमा सबैभन्दा नोक्सान रास्वपा र रविलाई हुन्थ्यो । उनी जोगिएका छन्, उनले जोगाएका छन् । रवि नतातेको भए मैमत्त सिंहदरबार न शीतलनिवास पुग्ने गरि ठण्डा हुनेवाला थियो नत मधेश पुगेर संवाद गर्नेवाला थियो । आफ्नैसँग सहमति गरेर भएपनि सिंहदरबारले संकटकाल उन्मुख एक्सप्रेस गाडीमा ब्रेक थिचेको छ ।

अबको निर्वाचन वा राजनीति धर्मका नाममा हुँदैछ । नयाँलाई हेर्ने भोक मेटाएको संजाल÷ समाज नयाँका टेष्टका लागि ‘धर्म बचाउने’ राजनीतिक दुकानतर्फ मोडिँदैछ । यसको अभ्यास भैरहेको छ । खासमा कसैको निहित फिसिङ्मा ‘धर्म’ गड्यौलाकारुपमा प्रयोग हुँदैछ । धर्म बचाउने पवित्र उद्देश्यले लामबद्ध हुनेहरुलाई कलिला किशोर किशोरीलाई जस्तै बलिको बोका बनाइने छ ।

परम्परागतरुपमा मिलेर बसेका दुई सम्प्रदाय हिन्दू–मुस्लिम नलडेसम्म अर्को सम्प्रदाय नेपालमा हावी हुन सक्दैन । ओरिजिनल नेपाली ब्लड काठमाडौँमा बगेपछि तिब्बती ओरिजिनल ब्लडले मार्चपास गरेको निकट अतित छ । तसर्थ वैदेशिक ओरिजिनल ब्लडको मार्चपासका लागि आफ्नो र आफ्नाको स्वदेशी खून खराब गर्ने खेलोमेलो बन्द गरौं । मिलेर बसौं । समभावले मात्र हाम्रो सनातन धर्म बचाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *