काठमाडौँ । नेपाल प्रहरी, सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान विभागको तालुकदार मन्त्रालय गृह मन्त्रालय हो । मन्त्रालय अहिले सुदन गुरुङले हाँकिरहेका छन् । गृहमन्त्रीले तीन वटा सुरक्षा निकायबाट सूचना लिने र त्यसैअनुसार निर्णय गर्ने हो । तर गृहमन्त्री गुरुङ सुरक्षा निकायका विश्वास नभएर होला असार दोस्रो साता सुटुक्क बारा र पर्साका सीमा क्षेत्रमा पुगेको फर्केपछि मात्र थाहा भयो । यसबारे सुरक्षा निकाय बेखबर थियो । उनी पर्सा पुगेको त रिसोर्ट खोल्न जग्गा खोज्न पुगेको भन्ने हल्ला पनि चल्यो । त्यसबारे उनै जानुन् ।
त्यसपछि गृहमन्त्री गुरुङ काँकरभिट्टा नाका र मेची भन्सारको, विराटनगर भन्सार क्षेत्रको अनुगमनमा गए । तर त्यहाँ जाँदा पनि उनी सुरक्षाकर्मीलाई थाहै नदिए गएका थिए । एकैचोटी विराटनगर भन्सार क्षेत्रमा पुगेपछि मात्रै गृहमन्त्री गएको कुरा सार्वजनिक भयो अर्थात् उनी सार्वजनिक भए । त्यसक्रममा सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको मोबाइलसमेत गृहमन्त्रीले लिएर आएको बताइएको छ । किनकी गृहमन्त्री कसरी संचारमाध्यम र सामाजिक संजालमा छाइन्छ, त्यस्तै काम गर्दै आएका थिए ।
तराईका सीमा क्षेत्रका जिल्लाको भ्रमण सकेर आएपछि साउन ८ गते गृहमन्त्री राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपस्थित भए । बैठकमा उनले दक्षिणी सीमावर्ती क्षेत्रमा रहेका समस्या पहिचान भइसकेकाले अब सरकार समाधानका लागि प्रभावकारी रूपमा अघि बढ्ने बताए । उनले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका सीमावर्ती क्षेत्रको स्थलगत अध्ययन तथा ‘स्ट्रिङ्ग अपरेसन’मार्फत समस्या पहिचान गरिएको दाबी गरे । बैठकमा उनले भने, ‘म आफैँ सीमावर्ती क्षेत्रमा पुगेर स्थलगत अध्ययन गरेको छु। अहिले समस्याको पहिचान गर्ने काम पूरा भएको छ। अब खुला सीमामा देखिएका चुनौतीहरूको समाधानतर्फ सरकार अग्रसर हुनेछ ।’
गृहमन्त्रीको भनाई सुन्दा लाग्थ्यो ठूलै उपलब्धि प्राप्त भयो । तर साउन ८ गते संसदीय समितिमा आएर गृहमन्त्रीले बताएको तीन दिनपछि अर्थात् साउन ११ गते सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भयो । गोली लागेर सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो । झण्डै एक दर्जन गोली लाग्यो । सुरक्षाकर्मी पनि घाइते भए । घटनापछि सिंहदरबारमा बसेर गृहमन्त्रीले के के गरे थाहा भएन, तर उनी गुमनाम भने रहे । तीन दिनअघि संसदीय समितिमा गएर त्यस्तो हाँक दिएका गृहमन्त्री सुनसरी घटनापछि भने पक्कै तिलिमिलिए ।
आइतबार राति घटना भएपछि सुनसरीमा सेनासमेत परिचालन गरियो अशान्ति बढ्दै गयो । गोली लागी घाइते भएका अर्का एक जनाको पनि बिहीबार मृत्यु भयो । विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भयो । तर गृहमन्त्री आइतबार घटना भएपछि त्यता जाने आँट गरेनन् । सुनसरीबाट सुरु भएको आन्दोलन छिमेकी जिल्लामा पनि फैलियो । बिहीबार सिराहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । दुई पक्षबीच झडप हुँदा सिराहा तुलसीपुरका गणेश यादवको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भयो । त्यसपछि सिरहा काठमाडौँमा गत भदौ २३, २४ को झल्को दिनेगरी आन्दोलन भयो । प्रदर्शनकारीहरूले गोलबजार क्षेत्रको एबी मलसहितका पसलमा आगजनी गर्नुका साथै तोडफोड गरे । अब आन्दोलन नियन्त्रणबाहिर जान थाल्यो । त्यसपछि बिहीबार साँझ सुनसरीतिर लागे ।
अहिले गृहमन्त्री सुनसरी, सिरहा र धनुषामा आन्दोलन मत्थर पार्ने काममा छन् । उनी आफैँ उपस्थित भएर पीडित परिवारसँग सहमति गरिरहेका छन् । पीडित परिवारलाई दश लाख क्षतिपूर्ति, रोजगारीको व्यवस्था, यस्तै यस्तै बुँदा राखेर सहमति गराउँदै आएका छन् । अनि भन्दै गृहमन्त्री भन्दैआएका छन् हामी पुराना जस्तो होइन ।
सुन्नुस् त पीडित परिवारसँग गृहमन्त्रीले के बोलेका छन् ?
जसको घरमा राज्य पक्षको गोलीद्वारा शोक परेको छ, उसैसँग राज्यको प्रतिनिधि भएर गृहमन्त्री–हामी पूरानाजस्तो होइन भन्दैछन् ? ठीक हो, पूरानाको पालामा साम्प्रदायिक समस्याको सामाधान राजनीतिक र सामाजिकरुपमा समाधान हुन्थ्यो । अहिले तीन जनालाई ड्याङकाड्याङ गोली हानेर मारिएको छ । तर पनि गृहमन्त्री भन्दैछन् हामी पुराना जस्तो होइन । भदौ २३, २४ मारिएका र सुनसरी, सिरहामा मारिएका फरक हुन् र ? अनि त्यतिबेलाका प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार हुन् भने अहिलेको घटनामा चाहिँ हुनुनपर्ने । कुन साहमा यस्तो बोल्दैछन् गृहमन्त्री ? गृहमन्त्री पदको गरिमा यो भन्दा तल कहीँ पुग्ने ठाउँ छ ?
