काठमाडौं । पाकिस्तानको ‘ब्रड पिक’ क्षेत्रको हिमपहिरोमा परी निधन भएका पर्वतारोही निर्मल पुर्जालगायतको शव उद्धारमा खटिएको टोली क्याम्प–१ सम्म झर्ने तयारी गरेको छ ।
आइतबार ग्राउन्ड टिमबाट प्राप्त जानकारीअनुसार टोली हालको स्थानबाट क्याम्प–१ सम्म ल्याउने योजनामा छ। त्यसपछि सोमबार टोलीले शव जापानी क्याम्प ल्याउने जानकारी दिएको छ । मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकप्टरमा ल्याउने योजना रहेको उद्धार टिमले जनाएको छ ।
यस अभियानको मुख्य उद्देश्य दिवंगत आरोहीको शव सुरक्षित रूपमा उद्धार गर्नु रहेको पाकिस्तानमा रहेका सांसद मिङ्मा डेभिड शेर्पाले जानकारी दिएका छन् ।
हिमपहिरोमा परी विख्यात नेपाली आरोही निर्मल पुर्जासहित पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पाको निधन भएको थियो ।
त्यसैगरी, विदेशी आरोहीहरू सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान), म्यालोरी गेइस (अमेरिका) को पनि निधन भएको छ ।
हिमपहिराले उनीहरूलाई छ हजार मिटरभन्दा माथिबाट करिब ८०० मिटर तलसम्म बगाएको थियो । खराब मौसमका कारण सो घटनामा तत्काल उद्धार गर्न कठिनाइ भएको थियो ।
