इरानविरुद्धको आक्रमण रोकेको ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘छिट्टै’ सम्झौता हुन सके इरानमाथि प्रस्तावित सैन्य आक्रमण रद्द गर्ने घोषणा गरेका छन् ।

आइतबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले आफूले इरानविरुद्धको आक्रमण रोक्ने निर्णय गरेको बताएका हुन् । उनका अनुसार सम्भावित सम्झौतामा हर्मुज जलडमरूमध्य तत्काल पूर्ण रूपमा खोल्ने र इरानको आणविक कार्यक्रमबाट उत्पन्न खतरा अन्त्य गर्ने विषय समावेश हुनेछ ।

ट्रम्पले उक्त निर्णय इजरायलसँगको समन्वयमा गरिएको दाबी गरेका छन्। उनको यो घोषणा अमेरिकाले सप्ताहन्तमा इरानमाथि थप शक्तिशाली हवाई आक्रमणको तयारी गरिरहेको भन्ने अमेरिकी सञ्चारमाध्यमहरूको रिपोर्ट सार्वजनिक भइरहेका बेला आएको हो।

यसअघि इरानले अमेरिका क्षेत्रीय तनाव बढाउन लागेको आरोप लगाउँदै वासिङ्टनसँग सहकार्य गर्ने कुनै पनि क्षेत्रीय मुलुक ‘युद्धको आगोमा पर्ने’ चेतावनी दिएको थियो।

ट्रम्पले आफ्नो पोस्टमा अमेरिका इरानविरुद्ध दोस्रो विश्वयुद्धयताकै शक्तिशाली सैन्य कारबाही गर्न पूर्ण रूपमा तयार अवस्थामा रहेको उल्लेख गरेका छन्। तर, इरान तथा मध्यपूर्वका केही मुलुकबाट सम्झौताका लागि समय दिन आग्रह आएपछि आफूले आक्रमण स्थगित गरेको उनले बताएका छन्।

उनले सम्झौताका आधारभूत रूपरेखामा सहमति भइसकेको संकेत पनि दिएका छन्। यद्यपि ट्रम्पको घोषणाबारे इरानले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यसअघि अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई क्षेत्रीय तनाव थप चर्किन सक्ने भन्दै उच्च सतर्कता अपनाउन र आवश्यक परे तत्काल त्यहाँबाट बाहिरिन तयारी अवस्थामा रहन आग्रह गरेको थियो। सुरक्षा सूचनामा उडान रद्द हुन सक्ने, हवाई क्षेत्र अस्थायी रूपमा बन्द हुन सक्ने तथा यात्रामा अवरोध आउन सक्ने चेतावनी दिइएको छ।

सीबीएस न्यूजका अनुसार अमेरिका र इजरायलले इरानका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै हालसम्मकै सबैभन्दा कडा बमबारी अभियानको योजना बनाएका थिए। उक्त योजना शुक्रबार बसेको ट्रम्पको मन्त्रिपरिषद् बैठकमा छलफल भएको बताइएको छ।

यस्तै, एक्सियोस र रोयटर्सका अनुसार साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शनिबार ट्रम्पसँग टेलिफोन वार्ता गर्दै सम्भावित आक्रमणप्रति चिन्ता व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *