एजेन्सी । पेरुको विश्वप्रसिद्ध नाज्का रेखा अवलोकन गराउन युरोपेली पर्यटक बोकेको एउटा सानो विमान शनिबार नाज्का सहरनजिकै दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार विमान इका सहरबाट उडेको थियो। पेरुभियन कम्पनी एरोडियानाले सञ्चालन गरेको उक्त विमान नाज्का सहरबाहिरको खेतमा खसेको हो। कम्पनीले विगत १४ वर्षदेखि सेस्ना ग्रान्ड काराभान विमानमार्फत नाज्का रेखाको दृश्यावलोकन उडान सञ्चालन गर्दै आएको जनाएको छ।
पेरुको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा १८ देखि ५४ वर्ष उमेरका सात इटालियन, ५२ वर्षका दुई स्पेनी र ७७ तथा ७८ वर्षका दुई जर्मन नागरिकको ज्यान गएको छ। साथै विमानका पाइलट अमेरिको सालाजार र सह–पाइलट इरेन्का गुआनिलो डेल कार्पियोको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नाज्का रेखा पेरुको मरुभूमिमा सयौं वर्षअघि आदिवासी समुदायले बनाएका विशाल भू–आकृतिहरू हुन्, जसमा विभिन्न जनावरका आकृतिहरू समेटिएका छन्। यी आकृतिहरू विमान वा अवलोकन टावरबाट मात्रै स्पष्ट रूपमा देख्न सकिन्छ।
राष्ट्रपति केइको फुजिमोरीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित मन्त्रालयहरूको प्रतिवेदनपछि विमानस्थललाई अस्थायी रूपमा बन्द गर्ने विषयमा निर्णय गरिने बताएकी छन्।
पेरुभियन अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जनाएका छन् ।
