सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार आज बिहान ८:३० बजेदेखि बेलुका ५ बजेसम्मका लागि कर्फ्यु आदेश हटाइएको हो । यसअघि साउन १२ गते राति ९ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।

 

कर्फ्यु हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न निषेध गरिएको छ ।

निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागु रहने छ ।

अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने तथा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, बैठक वा धर्ना निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *