काठमाडौँ । सभामुख डीपी अर्यालले संसदीय समितिहरूलाई विधेयक लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गरी समयमै टुंगोमा पुर्याउन आग्रह गरेका छन् ।
संसदीय समितिका सभापति तथा सचिवहरूसँग शुक्रबार भएको छलफलमा सभामुख अर्यालले समितिको कामकारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउन निर्देशन दिएका हुन् ।
उनले अनुगमन तथा अवलोकन स्पष्ट कार्यविधि र कार्ययोजनाका आधारमा गर्नुपर्नेमा जोड दिँदै कानुन र विधिको पूर्ण पालना गर्न निर्देशन दिए । अनुगमनका क्रममा निश्चित कार्यविवरण तयार गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
सभामुख अर्यालले सरकारलाई सुझाव तथा सल्लाह दिँदा समितिहरूले आफ्नो संवैधानिक तथा कानुनी क्षेत्राधिकारभित्र रहेर तथ्यपरक र कार्यान्वयनयोग्य सुझाव दिनुपर्ने बताए ।
उनले विधेयकमाथि पर्याप्त, गहन र गुणस्तरीय छलफल गरी आवश्यक परिमार्जनसहित प्रतिनिधिसभामा समयमै पेश गर्न समितिहरूलाई आग्रह गरे ।
छलफलमा संसदीय समितिहरूलाई प्रविधिमैत्री, स्रोत–साधन सम्पन्न र थप सक्षम बनाउने विषयमा समेत विचारविमर्श भएको थियो। समितिका सभापति तथा सचिवहरूले पनि समितिको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधारका उपायबारे आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।
