सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी तराईरमधेसका केही क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाको तत्काल सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनले ती घटनामा मानवीय क्षति हुनु, नागरिक तथा सुरक्षाकर्मी घाइते हुनु र विभिन्न स्थानमा सामाजिक तनावको स्थिति सिर्जना हुनु दुःखद पक्ष हुन् भने ।

उनले भने, “हिंसा, घृणा, साम्प्रदायिक विभेद तथा सामाजिक एकता र विभाजनका प्रयास कदापी स्वीकार्य छैन । असन्तुष्टि वा विवादको समाधान संविधान, कानुन, संवाद र लोकतान्त्रिक प्रक्रियाबाट मात्र सम्भव छ ।”

अध्यक्ष दाहालले पीडितलाई न्याय, उचित क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग आग्रह गरे । भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी, प्रशासनिक तथा सुरक्षा उपाय अवलम्बन गर्न र घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न अध्यक्ष दाहालले अनुरोध गरे ।

उनले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा, बुद्धिजीवी, मानवअधिकारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता, निजी क्षेत्र तथा सम्पूर्ण नेपालीलाई शान्ति, सहिष्णुता, संवाद, भाइचारा र सामाजिक एकताको वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरृ ।

विशेषगरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत अपुष्ट, भ्रामक तथा उत्तेजक सामग्रीको प्रचार–प्रसार नगरी प्रमाणित र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्नसमेत उनले आग्रह गरे ।

अध्यक्ष दाहालले संविधानको मर्म, लोकतान्त्रिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षण तथा प्रवर्द्धनमा राष्ट्रियसभा सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *