प्रचण्डको प्रश्नः प्रतिपक्षी दलहरुसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको हो ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाइ बहुमतको दम्भ नराख्न चेतावनी दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बहुमतको दम्भले आफैँलाई सिध्याउने चेतावनी दिएका हुन् । उनले प्रधानन्त्रीले प्रतिपक्षी दलहरुसँग संवाद गर्नुको साटो दम्भ पालेको भन्दै आपत्ति जनाए ।

उनले प्रतिपक्षसँग संवाद गरेर प्रधानमन्त्री कद सानो नहुने बताए । प्रतिपक्षी दलहरुसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला भन्दै प्रश्न गरे ।

उनले भने, ‘नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता र बुद्धिजीवीहरू र विज्ञहरूको विशाल पङ्क्ति छ। ठूलठूला अप्ठ्यारा परिस्थितिहरूलाई निकास दिने हैसियत, क्षमता राख्ने नेताहरूको पङ्क्ति छ। लोकतन्त्रको निम्ति झन्डै ७० वर्षदेखि जेल, नेल, यातना थुप्रै थुप्रै भोगेका नेताहरूको पङ्क्ति पनि छ। उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला। मलाई अनौठो लागेको छ ।

प्रचण्डले कांग्रेस, एमाले र अरू दलहरूमा पनि संघर्षका धेरै अनुभवहरू रहेकाले ती अनुभव सरकारका लागि सहयोगी हुने बताए ।

उनले भने, ‘जति उदार मनले काम गर्न सक्यो त्यति देशको पनि जनताको पनि तपाईंहरूको पनि हित हुनेवाला छ। तपाईंहरू जति संवादबाट टाढा जानुहुन्छ। जति प्रतिपक्षलाई अवमूल्यन वा अपमानित गर्नुहुन्छ, जनताको एउटा तह वर्ग तप्कालाई बेवास्ता गर्ने कोसिस गर्नुहुन्छ त्यति राष्ट्र पनि जनता पनि र तपाईं हामी सबै अफ्ठ्यारोमा पर्छौं ।’

प्रचण्डले प्रधानमन्त्रीको आफ्नै अहंकारले संवादका लागि रोकेको हुनसक्ने बताए । उनले भने, ‘उहाँले मलाई बोलाएर एकचोटी तपाईँले पनि भ्रष्टाचारको विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो। के ले तपाईँलाई सफल हुन दिएन भनेर सोधे पनि त हुन्थ्यो। के ले रोक्या उहाँलाई ? आफ्नै अहंकारले रोक्या हो कि ? म पर्याप्त छु अब मलाई कोही चाहिँदैन भन्ने खालको हो कि ? यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो।’

उनले प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्दा उत्पन्न हुने परिणामको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *