काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद शर्माले प्रधानमन्त्रीले संसद्को मर्यादा कायम गर्न नसकेको आरोप लगाए । उनले लामो समयदेखि प्रधानमन्त्रीलाई आफ्नो विवादित अभिव्यक्ति सच्याउन आग्रह गर्दै आएको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउन पुनः अनुरोध गरे । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने उनले बताए ।
सांसद शर्माले सुनसरीको कप्तानगञ्जमा भएको घटनाले सिंगो देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर घटनाबारे जानकारी गराउनुपर्ने बताए । तर प्रधानमन्त्रीको अनुपस्थितिले सरकारको जिम्मेवारीप्रति प्रश्न उठेको उनको भनाइ थियो ।
उनले भने,‘सुनसरीको कप्तानगञ्जमा भएको घटनाले सिंगो देशलाई तरंगित बनाएको छ र स्तब्ध बनाएको छ । यस्तो संवेदनशील अवस्थामा पनि हाम्रा प्रधानमन्त्रीज्यूले संसदमा आएर देशभारलाई एउटा त्यहाँको विषयवस्तुबारे, त्यहाँको घटनाबारे र त्यहाँको समग्र अवस्थाबारे जानकारी दिनुपथ्र्यो तर प्रधानमन्त्री कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? न संसदलाई न कसैलाई जानकारी छ । उल्टो गृहमन्त्रीज्यूले धम्की दिँदै भन्नुहुन्छ, ‘कहिले, यो गृहमन्त्री चाहिएको छ भने लैजाऊ’ भनेर सार्वजनिक रूपमा भन्न र यस्तो अराजक गतिविधि के रे अभिव्यक्ति दिन भ्याउनुहुन्छ ।’
उनले गृहमन्त्रीको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै सरकार अभिभावकको भूमिकामा प्रस्तुत हुनुपर्ने धारणा राखे ।
