काठमाडौँ । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन साह र गृहमन्त्री सुदन गुरुङको राजीनामा माग गरेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् । उनले काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र थुनामा बस्नुपर्ने हो भने सुनसरीमा गोली चल्दा अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने र थुनामा बस्नुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरिन् ।
उनले भनिन्,‘काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने र थुनामा बस्नुपर्ने तर अहिले सुनसरीमा गोली चल्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले थुनामा बस्नुपर्छ कि पर्दैन ? यो हाम्रो प्रश्न हो । यसमा नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’
उनले सुनसरी घटना राज्यको असफलता भएको टिप्पणी गरिन् । उनले भनिन्, ‘दङ्गा नियन्त्रण दमनले होइन, संवाद र विश्वासबाट हुनुपर्छ । शान्ति सुरक्षा कायम गर्न राज्य असफल भएको छ ।’
उनले मुलुकमा सङ्कट पर्दा प्रधानमन्त्री र सरकार कहाँ छ भन्ने प्रश्न गर्दै सङ्कटका बेला जनतासँग सरकारले संवाद गर्नुपर्ने बताइन् ।
उनले सरकारसँग सहकार्य र हातेमालो गर्दै सद्भाव कायम गराउन एमाले तयार रहेको भन्दै विगतमा यो भन्दा ठुला घटना टीकापुर, गौर, वीरगन्जलगायतका ठाउँमा ठूला घटना हुँदा एउटै सूत्रले एकताबद्ध गर्न सकेको स्मरण गरिन् ।
