काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश सिंहले मधेशबासीलाई हिंसात्मक गतिविधिमा सामेल नहुन अपील गरेका छन् ।
बिहीबार बिहान सामाजिक संजालमार्फत सांसद सिंहले पटक पटकको आन्दोलनले मधेशले हरेक हिसाबले धक्का खाइरहेकाले शान्ति खलबल्याउने गतिविधिमा नलाग्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘म सम्पूर्ण मधेशबासी आमा बुवा दाजुभाइ दिदीबहिनीमा अपील गर्न चाहन्छु कुनैपनि असामाजिक तत्व जसले एकजुट भएर बसेको समाजको शान्ति, सद्भाव खलबल्याउने व्यक्तिको पछाडि नलाग्न अनुरोध गर्दछु। त्यस्ता गतिविधि गर्ने जुनसुकै समुदाय या वर्गको भएपनि त्यो मधेशको विकासको बिरोधी हो बुझ्नुपर्छ र त्यस्तालाई समाजिक बहिष्कार गर्नुपर्छ।’
उनले सबै वर्ग सामुदाय मिलेर मधेशको सम्मुनत विकासको एजेन्डालाई अगाडि सारेर अघि बढ्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘प्रिय मधेशबासी पटकपटकको आन्दोलन, जातिय र धार्मिक हिंसाले मधेशलाई अशान्त मात्र होइन १० वर्ष पछाडि धकेलेको छ। यस्ता हरेक गतिविधिले मधेशको भौतिक संरचना भत्काउने, शैक्षिकसत्र अबरुद्ध हुने, व्यापार व्यवसाय ठप्प हुने जस्ताले मधेशलाई नै धक्का लाग्ने गरेको छ । अब समय आएको छ सबै वर्ग समुदाय मिलेर मधेशको सम्मुनत विकासको एजेन्डालाई अगाडि सारेर अघि बढ्न, अब मधेशले कुनैपनि हिंसात्मक गतिविधि नगरेर सम्पूर्ण मधेश एकढिक्का भएर मधेशको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र युवाको रोजगारीमा दीर्घकालीन विकासमा जोड दिने समय हो।’
