प्रधानमन्त्री बालेन किन बोल्न जरूरी छ ? ओबामाले यस्तै बेलामा बोल्दा के भएको थियो ?

-उत्तमबाबु श्रेष्ठ ।

डिसेम्बर २, २०१५ मा अमेरिकाको क्यालिफोर्नियास्थित सान बर्नार्डिनोमा भएको सामूहिक हत्याकाण्डको केही घण्टापछि, सञ्चारमाध्यमले आक्रमणकारीहरूमध्ये कम्तीमा एक जनाको नाम मुस्लिम समुदायसँग मिल्दोजुल्दो भएको खबर सार्वजनिक गरेलगत्तै, क्यालिफोर्नियाका धेरै मानिसहरूले मुस्लिमहरूलाई कसरी मार्न सकिन्छ भनेर गुगलमा खोज्न थाले। मुस्लिमविरोधी सर्चहरू अमेरिकाभरि ह्वात्तै बढे।

सामान्यतया अमेरिकामा मुस्लिमविरोधी सर्चहरू सेप्टेम्बर ११ को आक्रमणको वार्षिकीका बेला बढ्ने गर्छन् । तर त्यस आक्रमणपछि मुस्लिमविरोधी सर्चहरू यति तीव्र रूपमा बढे कि जसका कारण अमेरिकाका विभिन्न ठाउँमा मुस्लिम समुदायमाथि आक्रमणका घटनाहरू वृद्धि हुन थाले। गुगलमा मुस्लिम समुदायमाथि हुने हिंसाको संख्या र मुस्लिमविरोधी सर्चबीच सहसम्बन्ध पहिले पनि देखिएकाले त्यहाँका सुरक्षा निकायहरू सजग भए ।

विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै राष्ट्रपति ओबामाले त्यसको चार दिनपछि डिसेम्बर ६ मा राष्ट्रपतीय कार्यालयबाट सम्बोधन गरे। उनले गरेको भाषण सामाजिक सद्भावका लागि अपिल थियो। उनले भाषणमा थुप्रै सैद्धान्तिक कुराहरू गरे र मध्यपूर्वका मुस्लिम राष्ट्रहरू आफ्नो देशका सहयोगी भएको उल्लेख गरे। तर उनको भाषणको अवधिभर मुस्लिमविरोधी गुगल सर्च रोकिएन।

जब उनले भाषणमा भने-‘मुस्लिम अमेरिकन हाम्रा साथी हुन्, उनीहरू हाम्रा छिमेकी हुन्, उनीहरू हाम्रा खेलकुदका नायक हुन् र उनीहरू यो देशको सैनिक पोसाक लगाएर लड्ने वीर–वीरंगना पनि हुन्, जुन कुरा हामीले आज भुल्नु हुँदैन।’

उनले त्यति मात्र के भनेका थिए, गुगलमा मुस्लिम खेलाडी र मुस्लिम सैनिक जस्ता सकारात्मक विषयहरू खोजिन थालियो। बिस्तारै त्यहाँ मुस्लिमविरोधी सर्च घट्दै गयो र अमेरिका केहि समय पछि पुनः पुरानै लयमा फर्कियो।

त्यसैले, जिम्मेवार पदमा बस्ने व्यक्तिले संकटपूर्ण र संवेदनशील घडीमा बोल्ने कुरा र शब्द चयनले घटनालाई साम्य पार्न कति महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने कुरा यसले पुष्टि गर्छ। सुनसरी घटनापछि हाम्रा प्रधानमन्त्री मौन हुनुहुन्छ। यतिखेर उनका प्रमुख राजनीतिक सल्लाहकार नै मुस्लिम समुदायको हुनुहुन्छ। प्रधानमन्त्री र बालेनले जति भावनात्मक अपील गर्न अरू नेताले विरलै जानेका छन्। यस्तो बेलामा बोल्नु पर्दैन र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *