काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भएको त्रिकोणात्मक सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । बुधबार राति सम्पन्न खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको हो ।
जितको लागि २ सय २६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय १ सय ६८ रनमात्र बनाउन सक्यो । नेपालको लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । उनले ७८ बलमा २ चौकाको मद्दतमा ३८ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले २६, करण केसीले २३, इशान पाण्डेले १६, हेमन्त धामीले नटऔट १५, गुलसन झाले ११ र भीम शार्कीले १० रन बनाए ।
नेदरल्यान्ड्सको लागि कल क्लिनले तीन विकेट लिँदा लोगान भान बिक, रिलोफ भान डेर मेर्वे र जाच लायोन काच्टले समान दुई/दुई विकेट लिए । यस्तै आर्यन दत्तको नाममा एक विकेट रह्यो ।
यसअघि नेदरल्यान्ड्सको युट्रेच्ट सहरस्थित स्पोर्टपार्क मार्सचालकरविर्ड मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रनको योगफल बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि नोआ कोर्सले सर्वाधिक ७० रनको योगदान दिए । त्यस्तै कप्तान स्कट एडवार्डसले ५७ रन बनाए । लोगान भ्यान विक २७ रनमा अविजित रहे ।
बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित नारायण राजवंशीले एक/एक विकेट लिए ।
जितसँगै नेदरल्यान्ड्स ३१ खेलबाट ३८ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने एक खेल बढि खेलेको नेपाल २४ अंकसहित छैटौँ स्थानमा रहेको छ ।
