माउन्ट ओलम्पस र जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

सोल। दक्षिण कोरियामा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा समितिको बैठकले ग्रीसको प्रसिद्ध माउन्ट ओलम्पस तथा जापानका प्राचीन राजधानी आसुका र फुजिवारालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ।

बुसानमा बुधबारसम्म चल्ने समितिको बैठकले दक्षिण सुडानको ‘बोमा–बाडिङ्गिलो माइग्रेटरी ल्यान्डस्केप’लाई पनि विश्व सम्पदा सूचीमा समावेश गरेको छ। विश्वकै सबैभन्दा ठूलो स्थलीय स्तनधारी जीवको बसाइँसराइ हुने क्षेत्रमध्ये एक मानिने यो स्थल दक्षिण सुडानबाट विश्व सम्पदा सूचीमा समावेश भएको पहिलो सम्पदा हो। बाह्रौँ ओलम्पियन देवताको पौराणिक बासस्थान मानिने माउन्ट ओलम्पसलाई सांस्कृतिक तथा प्राकृतिक दुवै महत्व बोकेको मिश्रित सम्पदाका रूपमा सूचीकृत गराउन ग्रीसले गरेको १२ वर्ष लामो प्रयासले सफलता पाएको हो।

समुद्री सतहबाट दुई हजार ९१८ मिटर उचाइमा रहेको यो हिमाललाई प्राचीन ग्रीक मिथकमा देवताका राजा जियसको सिंहासन मानिन्थ्यो। यहाँ जैविक विविधता पनि समृद्ध रहेको छ। माउन्ट ओलम्पसको फेदीमा रहेको डिओन–ओलम्पस नगरपालिकाका मेयर इभान्जेलोस गेरोलिओलियोसले विश्व सम्पदा सूचीमा समावेश भएपछि यसको संरक्षणको दायित्व थप बढेको बताएका छन्।

उनका अनुसार यसबाट पर्यटन बढ्ने सम्भावनासँगै त्यसबाट वातावरणमा पर्न सक्ने प्रभावलाई समेत ध्यान दिनुपर्नेछ। युनेस्कोका लागि ग्रीसका प्रतिनिधि जर्जियोस कौमौत्साकोसले माउन्ट ओलम्पसको संरक्षण गर्दै वर्तमान तथा भावी पुस्तालाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैगरी, जापानको नारा प्रिफेक्चरमा रहेका आसुका र फुजिवारा प्राचीन राजधानी क्षेत्रका १९ पुरातात्विकस्थल विश्व सम्पदा सूचीमा समावेश भएका छन्। छैटौँदेखि आठौँ शताब्दीसम्मका यी स्थलमा जापानमा चिनियाँ प्रणालीको प्रभावमा विकसित पहिलो केन्द्रीकृत राज्यका दरबार, सरकारी कार्यालय, बौद्ध मन्दिर तथा चिहानका अवशेष रहेका छन्।

यी प्राचीन राजधानीले पछि विकसित नारा र क्योटो राजधानीको स्वरूपमा प्रभाव पारेका थिए। जापानका संस्कृतिमन्त्री कोबायाशी शिगेकीले विश्व सम्पदा सूचीमा समावेश गरेकोमा युनेस्को समितिप्रति आभार व्यक्त गर्दै यी सम्पदालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।

नारा निवासी जापानी प्रधानमन्त्री सानाए ताकाइचीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत विश्व सम्पदा मान्यता प्राप्त भएपछि उक्त क्षेत्रमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आशा व्यक्त गरेका छन्।

नारा विश्वविद्यालयका पुरातत्व प्राध्यापक योशियुकी आइहाराका अनुसार आसुका–फुजिवारा क्षेत्र जापानको प्राचीन राज्य निर्माणमा चीन तथा कोरियाली प्रायद्वीपको प्रभाव बुझ्न महत्वपूर्ण छ। उनका अनुसार उक्त क्षेत्रमा जमिनमुनि पुरिएका ऐतिहासिक अवशेष अझै उत्खनन भइरहेका छन्। दक्षिण सुडानको बोमा–बाडिङ्गिलो क्षेत्रमा मौसमी वर्षा र बाढीले निर्माण गरेका विशाल सिमसार, बाढी मैदान तथा सवाना क्षेत्र रहेका छन्।

युनेस्कोका अनुसार यहाँ अनुमानित ६० लाख सेतो कान भएका कोब, टियाङ र मोङ्गल्ला हरिणले वातावरणीय अवस्थाअनुसार मौसमी बसाइँसराइ गर्छन्। उक्त क्षेत्र हात्ती, सिंह, चितुवालगायतका वन्यजन्तुको महत्वपूर्ण बासस्थानसमेत हो। साथै, शताब्दीयौँदेखि पशुपालन, खेतीपाती तथा माछा मारेर जीविकोपार्जन गर्दै आएका विभिन्न जातीय समुदाय पनि यस क्षेत्रमा बसोबास गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *