सुदूरपश्चिम । कैलालीको धनगढीमा सत्याग्रहमा रहेका चिकित्सा शिक्षा अभियन्ता प्राध्यापक डा. गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगिएको छ । केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शनिबार त्यहाँबाट अस्पताल लगिएको हो ।
केसीको शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले परीक्षण गरेका थिए । परीक्षणका क्रममा सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन् ।
चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका थिए । सोही अनुसार उनलाई अस्पताल लगिएको हो । डा. केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे माग राख्दै धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा २४औं सत्याग्रहमा बसेका हुन् ।
केसीले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षाको अध्ययन थाल्नुपर्ने र स्वार्थ प्रेरित भएर गरिएको उपकुलपति र रजिष्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् ।
