सर्लाहीमा सिंचाई डिभिजन प्रमुखसहित दुई जना ७ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौँ । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ७ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा बर्दिवासस्थित आयोगको टोलीले उनीहरूलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।

आयोगले डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

उनीहरूको साथबाट घुस रकमसहित स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद र तीन थान मोबाइलसमेत बरामद गरिएको आयोगले जनाएको छ ।

उनीहरूलाई सर्लाहीको वागमती नगरपालिका–१२ स्थित कार्यालय प्रमुखको क्वाटरबाट नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *