सांसद गणेश पौडेलमाथि मसी प्रहारको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिनको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको कालो मसी प्रहार तथा दुव्र्यवहारको घटनाको कडा भत्र्सना गरेको छ।

मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गरी साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा सांसद पौडेलमाथि भएको मसी प्रहार तथा दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् ।

रास्वपाले लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित भए पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुव्र्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने जनाएको छ। यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सुसंस्कृत राजनीतिक अभ्यासमाथि प्रहार गर्ने विज्ञप्तिमा उल्लेख छ।

पार्टीले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानूनबमोजिम कडा कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।

विज्ञप्तिमा रास्वपा संसदीय दल लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास तथा सभ्य समाज निर्माणप्रति सधैं प्रतिबद्ध रहेको पनि पुनः स्पष्ट गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *