रूसको सहयोगमा सीआईए केन्द्रमा आक्रमण भएको आशंका, अमेरिकी अनुसन्धान सुरु

रोयटर्स । खाडी क्षेत्रमा रहेका अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) का केन्द्रहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रूसको सम्भावित संलग्नताबारे अमेरिकी गुप्तचर निकायले अनुसन्धान थालेको छ।

अमेरिकी गुप्तचर मामिलासँग सम्बन्धित श्रोतकाअनुसार रूसले लक्ष्य निर्धारणसम्बन्धी सूचना वा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको हो । यद्यपि, हालसम्म रूसी संलग्नताबारे कुनै ठोस निष्कर्षमा पुगिएको छैन।

स्रोतहरूका अनुसार आक्रमणको उच्च सटीकता, प्रभावकारिता तथा इरानलाई रूसले लामो समयदेखि उपलब्ध गराउँदै आएको प्राविधिक सहयोगका आधारमा रूसी भूमिकाको सम्भावना अध्ययन भइरहेको छ।

यसअघि पनि रोयटर्ससहितका सञ्चारमाध्यमले खाडी क्षेत्रमा अमेरिकी लक्ष्यविरुद्ध इरानले गरेका आक्रमणमा रूसले लक्ष्य निर्धारणलगायत सहयोग गरेको समाचार सार्वजनिक गरेका थिए, जसलाई केही अमेरिकी अधिकारीहरूले स्वीकार गरेका छन्।

तर सीआईएका केन्द्रमाथिको आक्रमणमा रूसको सम्भावित प्रत्यक्ष संलग्नताबारे अनुसन्धान भइरहेको तथ्य भने पहिलो पटक सार्वजनिक भएको हो।

गत मार्चमा कम्तीमा दुईवटा सीआईए केन्द्रमा आक्रमण भएको थियो। तीमध्ये एउटा साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासभित्र रहेको सीआईए स्टेशन र अर्को पूर्वी इराकमा रहेको केन्द्र थियो। केही स्रोतका अनुसार थप सीआईए केन्द्रहरू पनि आक्रमणको निशानामा परेका थिए, तर त्यसबारे विवरण खुलाइएको छैन।

क्षेत्रीय एक अधिकारीका अनुसार पश्चिमी गुप्तचर निकायको आन्तरिक मूल्याङ्कनले क्षेत्रीय सीआईए केन्द्रहरूको लक्ष्य निर्धारणमा रूसको भूमिका रहेको हुन सक्ने निष्कर्ष निकालेको छ।

खाडी क्षेत्रका दुई पश्चिमी अधिकारीका अनुसार साउदी अरेबियामा भएको आक्रमणमा रूसद्वारा प्रविधि परिमार्जन गरिएका इरानी ‘शाहेद’ ड्रोन प्रयोग गरिएको अनुमान गरिएको छ।

उनीहरूका अनुसार पहिलो ड्रोनले अमेरिकी दूतावासको बाहिरी संरचनामा प्वाल पारेको थियो भने दोस्रो ड्रोन त्यही स्थानबाट प्रवेश गरी विस्फोट भएको थियो। घटनामा कुनै मानवीय क्षति भएको छैन।

विश्लेषकहरूका अनुसार यदि रूसले सीआईएका संवेदनशील केन्द्रहरूलाई लक्ष्य बनाउन प्रत्यक्ष सहयोग गरेको पुष्टि भएमा अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयासलाई कमजोर बनाउने दिशामा मस्को थप सक्रिय भएको संकेत मानिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *