अल–हय्या हमास समूहको नयाँ प्रमुख चयन

गाजा सिटी । प्यालेस्टिनी इस्लामिक आन्दोलन हमासले सोमबार आफ्नो राजनीतिक ब्यूरोको नयाँ प्रमुखमा खलिल अल–हय्यालाई निर्वाचित गरेको घोषणा गरेको छ । उनी इजरायलसँगको अप्रत्यक्ष युद्धविराम वार्ताका प्रमुख वार्ताकार थिए ।

“इस्लामिक रेसिस्टेन्स मुभमेन्ट (हमास) ले मुजाहिद भाइ खलिल अल–हय्यालाई आन्दोलनको राजनीतिक ब्यूरोको प्रमुखमा निर्वाचित गरेको घोषणा गर्दछ, जसले हमास नेता याह्या अल–सिनवारको जिम्मेवारी लिनुहुनेछ,” हमासले विज्ञप्तिमा भनेको छ।

इजरायलले सन् २०२३ अक्टोबर ७ को हमलाको मुख्य योजनाकारमध्ये एक भएको दावी गरेका सिनवारको एक वर्षपछि इजरायली सेनाले गाजामा गरेको कारबाहीमा मृत्यु भएको थियो ।

उनको मृत्युपछि हमासलाई लामो समयदेखिका वरिष्ठ अधिकारी मोहम्मद दार्विशको नेतृत्वमा रहेको पाँच सदस्यीय नेतृत्व परिषद्ले नेतृत्व गर्दै आएको थियो।

सन् १९६० मा जन्मिएका अल–हय्या गत वर्ष दोहामा इजरायली हत्या प्रयासबाट बाँचेका थिए तर त्यसक्रममा उनका एक छोरा मारिएका थिए ।

हय्याले हमासका पूर्व प्रमुख तथा अनुभवी नेता खालेद मेशाललाई नेतृत्व चयनमा पराजित गरेको बताइएको छ।

“खलिल अल–हय्या अत्यधिक बहुमतले निर्वाचित हुनुभएको छ,” हमासका एक वरिष्ठ अधिकारीले एएफपीलाई भने। उनले आगामी हप्ता औपचारिक रूपमा जिम्मेवारी ग्रहण गर्ने अपेक्षा गरिएको छ।

हमास नेताले भनेका छन्, “राजनीतिक ब्यूरोले केही दिनभित्रै इस्तानबुलमा बैठक बस्नेछ र समितिहरू गठन गरी हमासको नेतृत्व संरचनालाई पुनर्गठन गर्न थाल्नेछ।”

अधिकारीका अनुसार हालको पाँच सदस्यीय नेतृत्व परिषद् भङ्ग हुनेछ र यसका सदस्यहरूले समूहको शुरा परिषद् समक्ष राजीनामा दिनेछन् ।

“कठिन सुरक्षा अवस्था र इजरायली पक्षले कब्जा गरेको प्यालेष्टिनी भूभागमा धेरै राजनीतिक तथा सैन्य नेताहरूलाई हत्या गरेका कारण निर्वाचन प्रक्रिया अत्यन्त जटिल र गोप्य तरिकाले सञ्चालन गरिएको थियो,” हमासको एक स्रोतले बताएको छ ।

हमासको सशस्त्र शाखा एजेदिन अल–कस्साम ब्रिगेड्सका प्रतिनिधिहरूले पनि हय्यालाई ‘पूर्ण समर्थन’ रहेको घोषणा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *