जलविरेमा दुई बस ठोक्किदा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ। चितवनको जलविरे क्षेत्रमा दुई यात्रुवाहक बस आपसमा ठोक्किएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुर्घटनापछि दुवैतर्फ सवारीसाधन रोकिएका छन्। दुर्घटनास्थलमा प्रहरी र सम्बन्धित निकायको टोली पुगेर सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ।

यसअघि लगातारको भारी वर्षाका कारण पहिरो र अन्य जोखिमको सम्भावनालाई मध्यनजर गर्दै शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सवारी आवतजावत रोकिएको थियो। जोखिम मूल्यांकनपछि आइतबार बिहानदेखि भने सवारी सञ्चालन पुनः सुचारु गरिएको थियो।

तर, जलविरे क्षेत्रमा दुई बस आपसमा ठोक्किएपछि सडक फेरि अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

दुर्घटनामा भएको क्षति तथा मानवीय अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *