काठमाडौं । संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित ‘संविधान संशोधन बहसपत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार (असार ३२) प्रतिवेदन बुझाएको हो ।
सरकारले २०८२ चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूचीको बुँदा नं. ४ अनुसार देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधनका मुद्दामा राष्ट्रिय सहमति निर्माण गर्ने उद्देश्यले ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न कार्यदल गठन गर्ने व्यवस्था गरिएको थियो। साथै, बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने लक्ष्य पनि कार्यसूचीमा समेटिएको थियो ।
सोही कार्यसूचीअनुसार २०८२ चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको थियो। कार्यदलले २०८२ चैत २५ गतेदेखि काम सुरु गरी दोस्रो पटक थपिएको म्यादभित्र आफ्नो जिम्मेवारी पूरा गर्दै प्रतिवेदन पेस गरेको हो ।
प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले २२ वटा औपचारिक बैठकका साथै विभिन्न अनौपचारिक छलफलसमेत आयोजना गरेको जनाएको छ । यस अवधिमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व, संविधानविद्, कानुनविद्, पूर्वन्यायाधीश, पूर्वमहान्यायाधिवक्ता, पूर्वकानुन सचिव, पूर्वप्रशासक, महिला अधिकारकर्मी, सञ्चारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधिसहित १८४ जना विज्ञसँग प्रत्यक्ष परामर्श र छलफल गरिएको कार्यदलले जनाएको छ ।
