चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु संक्रमण

चितवन ।  चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेंगी सङ्क्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार १० हजार ५२३ जनाको परीक्षण गरिएकामा उक्त सङ्ख्यामा डेंगी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये २१६ जना चितवन र बाँकी ५८ जना अन्य जिल्लाका रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ८७ जनामा डेंगी देखिएको उनले बताए ।

भरतपुर महानगरपालिकाका ५६ जना, खैरहनी नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकाका २१ जना, कालिका नगरपािलकाका ११ जना, माडी नगरपालिकाका तीन जना र इच्छाकामना गाउँपालिकाका तीन जनामा डेंगी सङ्क्रमण देखियो ।

गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेंगीको सङ्क्रमण देखिएको थियो भने एक जनाको मृत्यु भएको थियो ।

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी भदौ र असोजमा डेंगी बढी देखिने गरेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगी रोग सर्ने चिकित्सक बताउँछन ।

उक्त लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने केसीले जानकारी दिए । उक्त लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्यांकी आदिमा फुल पार्ने उनको भनाइ छ ।

आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिएमा यो रोगबाट बच्न सकिने केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *