कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज

धरान (सुनसरी) । कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी साउन २ गते यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ आयोजना हुने भएको छ ।

आयोजक पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले आज पत्रकार सम्मेलन गरी ‘कोशी प्रदेश पर्यटन वर्ष’ अभियानलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो ।

क्लबका अध्यक्ष किशन मास्केका अनुसार साइक्लिङमार्फत प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्दै दिगो र वातावरणमैत्री पर्यटन विकासमा टेवा पु¥याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रम संयोजक विजय श्रेष्ठका अनुसार ३० किलोमिटर दूरीको साइक्लिङ राइड साउन २ गते बिहान ६ः०० बजे भानुचोकबाट सुरु हुनेछ । राइड भोटे पुल, धनकुटे रोड, बुद्धचोक, घोपा गेट, डिपो स्कुल लाइन, इन्द्रेणी चोक, रेल्वे चोक, रत्नचोक, मङ्गलबारे, वैष्णोदेवी मन्दिर, धरान रङ्गशाला, जानकी चोक, जिरो प्वाइन्ट, फुस्रे सैनिक स्कुल, विजयपुर चोक, पञ्चकन्या पथ, बुढासुब्बा मन्दिर चोक, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर, आदर्श चोक, भिन्टेज फेमिली रिसोर्ट, तल्लो देउराली चोक हुँदै धरान–धनकुटा राजमार्गको चारकोसे जङ्गल, तिनकुनेलगायत क्षेत्र पार गर्दै धरान–८ स्थित लाङ्घाली सामुदायिक पार्कमा पुगेर समापन हुनेछ ।

कोरा राइडमा सुनसरीसहित झापा, मोरङलगायत जिल्लाबाट तीन सयभन्दा बढी साइक्लिष्ट सहभागी हुने अध्यक्ष मास्केले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *