राज्य–जनताबीच विश्वास कमजोर बनाउने प्रयास हुनु दुःखदः सुमना श्रेष्ठ

काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले राज्य र जनताबीचको विश्वास योजनाबद्ध रूपमा कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले गाडी ‘पार्किङ रणनीति’ जस्ता घटनाले राज्य र नागरिकबीचको सम्बन्धमा अविश्वास बढाउने काम गरेको बताएकी हुन् । राज्यको माथिल्लो तहमा बस्नेहरूले ‘पाठ सिकाउने’ नाममा गरिरहेको बुलिङ अर्थात् धम्क्याउने प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको उनले बताएकी छन् ।

उनले लेखेकी छन्, ‘हिजो हामीले जथाभावी पार्किङ गरिएका गाडीहरूबाट सास्ती भोग्यौँ। गाडीहरू पहिचान गर्न सजिलो छ, तर जसले सडकको बीचमा गाडी छाडे, उनीहरूले जे गरे पनि आफू पूर्ण रूपमा सुरक्षित रहेको महसुस गरे। यो नै क्रोनिजम (आसेपासे पोस्ने प्रवृत्ति) हो ।’

उनले स्थानीय सरकारपछि प्रहरी नै जनतासँग सबैभन्दा नजिकको राज्य संयन्त्र भएकाले राज्य र जनताबीच अविश्वास सिर्जना गर्नु कसैको हितमा नहुने उल्लेख गरेकी छन् ।

उनले नागरिकलाई छिट्टै पक्ष वा विपक्षमा उभिन बाध्य पार्ने प्रवृत्तिले वास्तविक समस्या ओझेलमा पर्ने उल्लेख गर्दै वर्दीधारी सुरक्षाकर्मीभन्दा पनि निर्णय गर्ने नेतृत्व तहप्रति जवाफदेहिता खोज्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *