काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्रीले जनताको जीवन बचाउनेभन्दा मिडिया र प्रचारमा बढी ध्यान दिएको आरोप लगाएका हुन् । उनले भने, ‘तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर हो ? हिजो गृहमन्त्री चलचित्रको नायकजस्तो मिडिया घेरेर कहिले विमानस्थल, कहिले कता दौडिरहनुभएको थियो ।’
उनले गृहमन्त्रीको प्राथमिकता भिडियो बनाउने नभई नागरिकको जीवन रक्षा गर्ने हुनुपर्ने बताए । उनले भने, ‘हामीलाई गृहमन्त्रीले कति भिडियो बनाउनुभयो, कति युट्युब चलाउनुभयो भन्ने मतलब छैन । महत्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बच्यो कि बचेन भन्ने हो ।’
